टेलिकमद्धारा नेपालमै पहिलो अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइन जडान, होङ्सी शिवम् सिमेन्टलाई सेवा

Technology Khabar ३ मंसिर २०७५, सोमबार

टेलिकमद्धारा नेपालमै पहिलो अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइन जडान, होङ्सी शिवम् सिमेन्टलाई सेवा
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले अन्तराष्ट्रिय सेवा निर्देशनालय तथा क्षेत्रीय निर्देशनालय भैरहवा र दुरसंचार कार्याालय बुटवलको समन्वयमा होङ्सी शिवम् सिमेन्टको कारखानामा ५० एमबीको लिज लाइन तथा नेपालमै पहिलो पटक ६ एमबी क्षमताको अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइन समेत जडान गरेको छ ।

सो कार्यका लागि चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटीजी)को समेत सहकार्य रहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले चाइना टेलिकममार्फत सो व्याण्डविथको इन्ट्रानेट लिज लाइन दिएर अन्तर्राष्ट्रिय स्तरमा नेटवर्क अन्तरआबद्धता कायम गरेको हो । सो लिज लाइनका लागि नेपालको सिमानासम्म जडान, मर्मत र सर्भिस डेलिभरी नेपाल टेलिकमले गर्नेछ भने सिमाना पारी चाइना टेलिकमले गर्ने सहमति भएको छ ।

नेपाल टेलिकमका सह प्रवक्ता शोभन अधिकारीले चीनको बेजिंगदेखि नेपालको होङ्सी शिवम् सिमेन्टको कारखानासम्म सो सेवा दिएको बताए ।

‘कम्पनीको अनुरोधमा पहिलो पटक बेजिंगदेखि नेपालको कारखानासम्म अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइन जोडेका हौं, त्यसको शुल्क पनि लिज लाइनको बराबर नै छ,’ सह प्रवक्ता अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार सो लिज लाइनको शुल्क टेलिकमको हालको शुल्कअनुसार नै भएपनि त्यसमा थप मर्मत शुल्क जोडेर सेवा शुल्क लिईएको छ । यस्तो सेवा अन्य कम्पनीलाई समेत दिन सकिने उनको भनाई थियो ।

चाइना टेलिकमले नेपाल टेलिकमसँग सो ब्याण्डविथको इन्ट्रानेट लिज लाइन किनेर होङसीलाई उपलब्ध गराउने छ ।

कर्पोरेट ग्राहकहरुले टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्ने गर्छन् ।

अन्तर्राष्ट्रिय इन्ट्रानेट लिज लाइनमा कम्पनीको यो पहिलो पाइला भएको टेलिकमले जनाएको छ ।

easy care

प्रकाशित: ३ मंसिर २०७५, सोमबार