मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी

Technology Khabar २८ कार्तिक २०७५, बुधबार

मोबाइल फोन लाग्ने समयको आधारमा सबै कम्पनी ‘फेल’, मोबाइल इन्टरनेट सेवामा भने स्मार्ट अगाडी

काठमाडौं ।

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल फोन कल स्थापित हुन लाग्ने समयको आधारमा तीन वटै सेवा प्रदायकहरु असफल भएका छन् ।

नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोर्टअनुसार नेपाल टेलिकम एनसेल र स्मार्ट टेलिकम तीन वटै कम्पनीहरुको फोन कल तोकेको स्तर भन्दा अधिक भएको देखिएको छ । प्राधिकरणको सो रिपोर्टअनुसार नेपाल टेलिकमको कल स्थापित हुन लाग्ने समय ११.४८ सेकेण्ड छ भने एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेण्ड तथा स्मार्ट टेलिकमको कल स्थापित हुन लाग्ने समय १३.७१ सेकेण्ड रहेको देखिएको छ ।

प्राधिकरणले तोकेको कल स्थापित हुन लाग्ने समय न्यूनतम स्तर ५ सेकेण्ड वा सो भन्दा कम रहेको छ ।

कल स्थापित हुने सफलताको दर

त्यसैगरि कल स्थापित हुने सफलताको दरमा पनि तीन वटै कम्पनीहरु असफल भएको रिपोर्टमा उल्लेख छ । नेपाल टेलिकमको कल स्थापित हुने सफलताको दर ९८.२६ प्रतिशत छ भने एनसेलको ९७.७७ प्रतिशत तथा स्मार्ट टेलिकमको ९७.३९ प्रतिशत रहेको छ । कल स्थापित हुने सफलताको दरको लागि प्राधिकरणले तोकेको न्यूनतम स्तर ९९ प्रतिशत वा सो भन्दा बढी रहेको छ ।

मोबाइलमार्फत आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दर

मोबाइल अपरेटरहरुले संचालन गरेको मोबाइलमार्फत आफैं फोनकल वा सम्पर्क विच्छेद हुने दरमा भने सबै कम्पनीहरु पास भएको देखिन्छ । प्राधिकरणले तोकेको न्यूनतम स्तर २ प्रतिशत वा सो भन्दा कम रहेको र यस्तो दर परीक्षणको क्रममा गरिएका हरेक कलको अवधि ६० सेकेण्ड राखिएकोमा सबै टेलिकम अपरेटरहरुको दर भने शुन्य प्रतिशत रहेको छ ।

सेवाको स्तर वा कल स्थापित नहुने दर

प्राधिकरणले बुधवार सार्वजनिक गरेको सो रिपोर्टअनुसार सेवाको स्तर वा कल स्थापित नहुने दरमा नेपाल टेलिकम मात्र उत्तिर्ण भएको छ भने अन्य दुई कम्पनीहरुको दर नकारात्मक रहेको छ । प्राधिकरणले तोकेको न्यूनतम स्तर २ प्रतिशतमा नेपाल टेलिकमको दर १.७४ प्रतिशत मात्र छ भने एनसेलको दर २.२३ र स्मार्ट टेलिकमको दर ७.६१ प्रतिशत रहेको छ ।

नेपाल दूरसंचार प्राधिकरणले टेलिकम अपरेटरहरुको इन्टरनेट सेवाको पनि परीक्षण गरेको थियो । सो परीक्षणमा भने सबैजसो टेलिकम अपरेटरहरुको सेवाको गुणस्तर सकारात्मक रहेको देखिएको छ ।

फाइल डाउनलोड हुने दर

वेबपेजबाट फाइल डाउनलोड हुने सफलताको दर प्राधिकरणले ८० प्रतिशत वा सो भन्दा बढी तोकेकोमा नेपाल टेलिकमको ८३.३३ प्रतिशत, एनसेलको ९७.६२ प्रतिशत र स्मार्ट टेलिकमको १०० प्रतिशत रहेको देखिएको छ । त्यस्तै पिंग गर्न लाग्ने समयको परीक्षणमा पनि सबै कम्पनीको सेवा सकारात्मक रहेको छ । प्राधिकरणले तोकेको न्यूनतम स्तर २५० मिलिसेकेण्ड वा सो भन्दा कम रहेकोमा नेपाल टेलिकमको १४० मिलिसेकेण्ड, एनसेलको १८० मिलिसेकेण्ड र स्मार्ट टेलिकमको १५० मिलिसेकेण्ड रहेको छ ।

वेबपेज लोड हुन लाग्ने समय

वेबपेज लोड हुन लाग्ने समयमा एनसेलले नेपाल टेलिकम र स्मार्ट टेलिकमलाई उछिनेको छ । एनसेलको ७.३६ सेकेण्ड छ भने नेपाल टेलिकमको १६.८९ र स्मार्टको २०.०९ सेकेण्ड रहेको छ । त्यस्तै वेबपेज लोड हुने सफलताको दरमा पनि एनसेल नै अगाडि रहेको छ । यसमा एनसेलको दर ९९.१७ प्रतिशत छ भने नेपाल टेलिकमको ९८.८२ र स्मार्टको ९८.८५ प्रतिशत रहेको छ ।

फाइल डाउनलोड र अपलोडको अवस्था

फाइल डाउनलोड गर्दा डाटाको वहाव हेर्दा स्मार्ट टेलिकमको सेवाको दर उत्कृष्ट रहेको देखिन्छ । स्मार्ट टेलिकमले ग्राहकहरुलाई औसत इन्टरनेट २७.६९ एमबीपिएस दिएको छ भने अधिकतम बहाव ५७.८५ एमबिपिएस रहेको छ । त्यस्तै एनसेलको औसत इन्टरनेट बहाव १२.२२ एमबिपिएस छ भने नेपाल टेलिकमका ७.२५ एमबिपिएस रहेको छ ।

फाइल डाउनलोड हुने सफलताको दरमा नेपाल टेलिकमको सेवा असफल भएको देखिन्छ । रिपोर्टअनुसार नेपाल टेलिकमको दर ३९.१३ प्रतिशत छ भने एनसेलको ९७.५६ प्रतिशत र स्मार्टको ९८.३९ प्रतिशत रहेको छ । यस्तो दर प्राधिकरणकाअनुसार ७५ प्रतिशत वा सो भन्दा बढी हुनुपर्नेछ ।

फाइल अपलोड गर्दाको डाटाको वहाव हेर्दा नेपाल टेलिकम र एनसेललाई स्मार्टले जितेको छ । यसमा स्मार्टको औसत बहाव १२.६३ प्रतिशत छ भने एनसेलको ११.०७ एबिपिएस र नेपाल टेलिकमको ३.८६ एमबिपिएस रहेको छ ।

कसरी र कहाँ गरियो परीक्षण

प्राधिकरणले यस्तो परिक्षण ड्राइभ टेस्टको विधिबाट गरेको थियो भने सो परीक्षणहरु काठमाडौंका विभिन्न ३८ स्थानहरुमा गरिएको थियो । कमलादी, पुतलीसडक, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जैसीदेवल, बसन्तपुर, क्षेत्रपाटी, असन, नयाँ सडक, रत्नपार्क, जमल, ठमेल, पकनाजोल, सोह्रखुट्टे, अनामनगर, बिजुलीबजार, नयाँ बानेश्वर, थापागाउँ, मिलनचोक, भीमसेनगोला, बत्तीसपतुली, पुरानो बानेश्वर, मैतीदेवी, घट्टेकुलो, डिल्लीबजार, कमलपोखरी, नक्साल, नागपोखरी, गैरिधारा, टंगाल, भाटभटेनी, विशालनगर, गहनापोखरी, हाँडीगाउँ, भत्केको पुल , मित्रपार्क आदी क्षेत्रमा परीक्षण गरिएको थियो।

सो परीक्षण असोज ११ गतेदेखि असोज २५ गतेसम्म बिहान र साँझको नेटवर्क व्यस्त हुने समयमा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

हेर्नुहोस् पुरै परीक्षण प्रतिवेदन-

DT-Ashwin-2075-Nepali

easy care

प्रकाशित: २८ कार्तिक २०७५, बुधबार