मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता, मोबाइल मनीमार्फत विविध वित्तीय सेवा उपलब्ध गराउने

काठमाडौं । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

१६ हजार भन्दा बढी एजेण्ट आउटलेट संजाल भएको आइएमई डिजिटल, आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।