वर्ल्डलिंक कम्यूनिकेसन्सले निर्देशन विपरित काम गरेकोमा दूरसंचार प्राधिकरणले सोध्यो स्पष्टिकरण

Technology Khabar ९ कार्तिक २०७५, शुक्रबार

वर्ल्डलिंक कम्यूनिकेसन्सले निर्देशन विपरित काम गरेकोमा दूरसंचार प्राधिकरणले सोध्यो स्पष्टिकरण
Classic Tech

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्सलाई नेपाल दूरसंचार प्राधिकरणले स्पष्टिकरण सोधेको छ। प्राधिकरणले वर्ल्डलिंकलाई निर्देशन विपरित काम गरेको भन्दै स्पष्टिकरण सोधेको हो।

वर्ल्डलिंकले दशैंको अवसरमा ग्राहक प्रबद्र्धन योजनाअन्तरगत विभिन्न किसिमका चिठ्ठामा आधारित उपहार योजनाहरु राखेको भन्दै प्राधिकरणले स्पष्टिकरण सोधेको थियो । प्राधिकरणले असोज ६ गते पत्र पठाउँदै सो योजना र लक्की ड्रको बारेमा स्पष्टिकरण माग गरेकोमा कम्पनीको जवाफ चित्त बुझ्दो नभएको भन्दै कारबाहि गर्ने तयारी गरेको हो।

प्राधिकरणका एक अधिकारीले वर्ल्डलिंकको ग्राहकहरुलाई विदेश यात्रामा लैजाने सो प्रबद्र्धनात्मक योजना यसअघि प्राधिरकणले दिएको निर्देशन विपरित भएको भन्दै कारबाही गरिने दाबी गरे ।

‘वर्ल्डलिंकले जे भनेपनि यो लक्की ड्र नै हो, यो ग्राहकको हितमा नभएको र  भ्रममा पारेको छ,’ ती अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

प्राधिकरणले सोधेको स्पष्टिकरण पत्रमा सो लक्की ड्र (चिठ्ठामा आधारित उपहार कार्यक्रम) किन गरियो र त्यसको प्रकृयाको बारेमा जानकारी दिन भएको थियो । प्राधिकरणको पत्रको उत्तर दिँदै कम्पनीले भने नेपाली ग्राहकहरुलाई विदेशको इन्टरनेट सेवाको अनुभव दिलाउन सो विदेश भ्रमण योजना ल्याएको जानकारी दिएको ती अधिकारीले जानकारी दिए ।

यसअघि २०७० भदौ ३० गते नै प्राधिकरणले सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरुलाई चिठ्ठामा आधारित उपहार योजनाहरु बन्द गर्न र संचालन नगर्नको लागि निर्देशन दिएको थियो ।

सो निर्देशन पत्रमा दूरसंचार सेवा प्रदायक तथा इन्टर्नेट(इमेल सहित) सेवा प्रदायक संस्थाहरुले चिठ्ठामा आधारित कुनैपनि प्रकारको उपहार कार्यक्रम संचालन गर्न पाईने छैन् र हाल संचालनमा रहेको कुनैपनि प्रकारका चिठ्ठामा आधारित उपहार कार्यक्रम जे जस्तो अवस्थामा रहेको छ सोही अवस्थाबाट बन्द गर्नु हुन भन्ने उल्लेख थियो ।

त्यस्तै बोनस, फ्रि एसएमएस, रिचार्ज लोयल्टी/बोनस जस्ता ग्राहक हितमा नरहेका प्रोमोसनल क्याम्पेन योजना अबिलम्ब बन्द गर्न र अब उप्रान्त यस्ता योजना लागू गर्नु पूर्व योजनामा सहभागि हुने उपभोक्ताहरुलाई कुनै किसिमको नोक्सान नहुने गरी स्वीकृत महशुल दरको अधिनमा रहेर मात्र संचालन गर्नु हुन निर्देशन दिईएको थियो ।

तर वर्ल्डलिंकले यसअघि दिएको सो निर्देशन विपरित कार्य गरेको हुँदा सो कम्पनीलाई जरिवानासहित कारबाही गरिने प्राधिकरणका अधिकारीको भनाई थियो ।

प्राधिकरणको निर्देशन विपरित कार्य गर्ने दूरसंचार सेवा प्रदायक तथा इन्टरर्नेट सेवा प्रदायकहरुलाई ५ लाख रुपैयाँसम्मको जरिवाना गर्न सकिने कानूनमा लेखिएको छ ।

वर्ल्डलिंक कम्यूनिकेसन्सले चाडपर्वको अवसर पारेर ‘इन्टरनेट फररर, विदेश सररर’ नामक प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको थियो ।

सो योजनामा वर्ल्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियाको भ्रमण गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको थियो।

वर्ल्डलिंक कम्युनिकेसन्सले २३ औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो।

TK Viber

प्रकाशित: ९ कार्तिक २०७५, शुक्रबार

Loading...