प्रयोग बिहिन रहेको आईटि पार्कमा सेक्यूरिटी प्रेस राख्ने तयारीमा सरकार

Technology Khabar ८ कार्तिक २०७५, बिहीबार

प्रयोग बिहिन रहेको आईटि पार्कमा सेक्यूरिटी प्रेस राख्ने तयारीमा सरकार
फोटो: गूगलबाट
Classic Tech

काठमाडौँ । सरकारले सुरक्षण मुद्रणको लागि सेक्यूरिटी प्रिन्टिंग प्रेस स्थापना गर्ने भएको छ । सरकारको तर्फबाट सूचना तथा संचार प्रविधि मन्त्रालयले सेक्यूरिटी प्रेस स्थापनाको लागि तयारी शुरु गरिसकेको जानकारी दिएको छ ।

मन्त्रालयले यसको लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको र छिटै नेपालभित्रै सेक्यूरिटी प्रेस स्थापना हुने प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

‘पहिलो चरणमा पेपरबेस सेक्यूरिटी प्रिन्ट गरिनेछ भने दोस्रो चरणमा प्रविधि थप गर्दै प्लास्टिक कार्ड बेस्ड प्रिन्टिंग गरिनेछ,’ प्रवक्ता ढकालले टेक्नोलोजी खबरसँग भने ।

उनकाअनुसार सो प्रिन्टिंग प्रेसबाट राष्ट्रिय परिचयपत्र, हुलाक टिकट, बैंकहरुको चेकबुकलगायतका सामाग्रीहरु सुरक्षण मुद्रणको रुपमा छापिनेछ । त्यसपछि सेक्यूरिटी प्रिन्टिंग प्रेसको निरन्तर क्षमता र प्रविधि अभिवृद्धि गर्दै कार्ड र चिप्समा आधारित मुद्रण गरिनेछ ।

सरकारले सेक्यूरिटी प्रिन्टिंग प्रेस स्थापना गर्नको लागि काभ्रेको बनेपामा रहेको सूचना प्रविधि पार्क(आईटि पार्क) को जग्गा उपयोग गर्ने भएको छ ।

‘आईटि पार्क उद्धेश्य अनुसार संचालन हुन नसकेर हाल प्रयोग बिहिन रहेको छ, जहाँ सेक्यूरिटी प्रिन्टिंग प्रेस राख्ने तयारी छ,’ प्रवक्ता ढकालले भने ।

सो जग्गा संचार मन्त्रालयको नाममा रहेको र सेक्यूरिटी प्रिन्टिंग प्रेस पनि मन्त्रालयअन्तरगत नै हुने हुँदा सहज भएको उनको भनाई छ । आईटि पार्क रहेको सम्पूर्ण जग्गा सेक्यूरिटी प्रेसलाई आवश्यक पर्ने हुँदा पनि सो स्थानमा राख्न लागिएको जानकारी उनले दिए ।

मन्त्रालयकाअनुसार मन्त्रिपरिषदबाट प्रस्ताव पास भएपछि यसको संचालन मोडालिटीको बारेमा थप छलफल हुनेछ ।

सेक्यूरिटी प्रिन्टिंग प्रेस स्थापना र संचालनको मोडालिटीमा छलफलमा हुँदैछ, सरकारले नै टेण्डरमार्फत सेक्यूरिटी प्रिन्टिंग प्रेस स्थापना गर्ने वा कुनै दातृ निकायसँगको सहयोगमा सरकारले सिधै स्थापना गर्ने भन्ने छलफल भईरहेको छ, प्रवक्ता ढकाले भने ।

सरकारले पहिलो चरणमा सेक्यूरिटी प्रिन्टिंग प्रेस स्थापना गर्नको लागि चालु आर्थिक वर्षको बजेटमा ६५ करोड रुपैयाँ छुट्याएको छ ।

सेक्यूरिटी प्रेस स्थापनापछि सुरक्षित मुद्रणका लागि नेपालबाट बाहिरीने करोडौं रुपैयाँ बचत हुने, हजारौंले रोजगारी पाउने र स्थानियलाई प्राथमिकतामा राखिने मन्त्रायलको भनाई छ । त्यसैगरि अहिले छरिएर रहेको नेपाली नागरिकको डाटाबेसलाई पनि सोहि स्थानमा केन्द्रिकृत गरिने हुँदा डाटा चोरी हुने वा हराउने संभावना पनि न्यून हुने बताईएको छ ।

आईटि पार्कको अवस्था

सरकारले निकै लगानी गरेर तयार पारेको सूचना प्रविधि पार्क अझै संचालनमा छैन् । समय समयमा संचालनको प्रयास भएपनि सरकारको ठोस नीति नहुँदा आईटि पार्क संचालनमा आउन सकेको छैन् । विसं. २०५७ सालमा २ सय ५७ रोपनी जग्गा खरिद गरी भवन तथा पूर्वाधार निर्माण गरिएको सो पार्क सो ३० करोड रुपैयाँमा बनेको थियो ।

२०६३ सालमा नेदरल्याण्डको एक कम्पनीले ६ महिना काम गरेपनि इन्टरनेटको समस्या र यातायात पूर्वाधारको समस्या देखाउँदै पार्क छोडेको थियो । त्यसपछि विसं. २०६५ मा आईटीसम्बन्धि काम गर्ने भनेर अमेरिकन कम्पनी आइबिएमले पार्कमा काम शुरु गरेको थियो ।

हाल संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तरगत रहेको सो आईटि पार्क प्रयोग बिहिन रहेको छ ।

TK Viber

प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

Loading...