सिटिजन्स बैंक इन्टरनेसनल र खल्ती डिजिटल वालेट बिच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र खल्ती डिजिटल वालेट बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन्स बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बिहिबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

‘यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेका छौँ भन्ने महसुस गरेका छौ,’ सिटिजन्स बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले भने ।

‘अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो,’ खल्तीका निर्देशक अमित अग्रवालले भने ।

हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।