साझा यातायात र बससेवाबीच अनलाइन टिकटिङ सम्झौता, साझाका टिकट घरबाटै काट्न सकिने

Technology Khabar २५ आश्विन २०७५, बिहीबार

साझा यातायात र बससेवाबीच अनलाइन टिकटिङ सम्झौता, साझाका टिकट घरबाटै काट्न सकिने

काठमाडौं ।

काठमाडौं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।

अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरे ।

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुङका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो ।

‘लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएका छौँ,’ साझा यातायातका सञ्चालक तुलाधरले भने ।

यसैगरीे ‘साझा यातायातसँगको सहकार्यले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने हाम्रो अभियानमा ठुलो टेवा पुगेको छ,’ दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भने ।

यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्यूनिकेशनबाट टिकट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २५ आश्विन २०७५, बिहीबार