दूरसंचार प्राधिकरणको रिपोर्ट- बन्द भए २० हजार बढि पोर्न साइट, एनसेलद्धारा ३०० साइट मात्र बन्द

Technology Khabar २३ आश्विन २०७५, मंगलवार

दूरसंचार प्राधिकरणको रिपोर्ट- बन्द भए २० हजार बढि पोर्न साइट, एनसेलद्धारा ३०० साइट मात्र बन्द

काठमाडौं ।

काठमाडौँ । सरकारले हालसम्म २० हजार भन्दा बढि पोर्न साइटहरु बन्द गराएको छ । सरकारको तर्फबाट नेपाल दूरसंचार प्राधिकरणले हालसम्म २० हजार भन्दा बढि साइट बन्द गराएको रिपोर्ट आएको छ।

प्राधिकरणद्धारा केहि दिनअघि गरिएको अनुगमनमा टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुको अनुगमन गरेर २० हजार पोर्न साइट बन्द गरिएको रिपोर्ट आएको सो विषयमा जानकार एक अधिकारीले जानकारी दिए ।

प्राधिकरणले अक्टोबर २ तारिख अर्थात यहि असोज १६ गते गरेको विभिन्न कम्पनीहरुको अनुगमनपछि तयार पारिएको रिपोर्टमा २० हजार भन्दा बढि साइटहरु बन्द भएको उल्लेख छ ।

प्राधिकरणले ८ वटा टेलिकम अपरेटर र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको अनुगमन गरेको थियो । जसमध्ये नेपाल टेलिकमले १९ हजार भन्दा माथि, वल्र्डलिंक कम्यूनिकेसन्सले २० हजार भन्दा माथि, क्लासिक टेकले २१ हजार भन्दा माथि, वेबसर्फरले २० हजार भन्दा माथि, भायोनेटले २० हजार भन्दा माथि, सुबिसु केबलनेटले २५ हजार भन्दा माथि पोर्न साइटहरु बन्द गरिएको रिपोर्टमा उल्लेख छ ।

सो रिपोर्टको बारेमा जानकार अधिकारीकाअनुसार स्मार्ट सेलसँग आफ्नो ‘डिएनएस’ नभएको र सो कम्पनीले सुविसु र टेक माइण्डसमार्फत सर्भर प्रयोग गरिरहेका हुँदा सोहि आधारमा पोर्न साइट बन्द गरिएको रिपोर्टमा उल्लेख छ ।

अर्को टेलिकम अपरेटर एनसेलले भने केबल ३०० वटा मात्र पोर्न साइट बन्द गरेको सो रिपोर्टलाई आधार मान्दै ती अधिकारीले दाबी गरे ।

‘प्राधिकरणको अनुगमन रिपोर्टमा एनसेलले ३०० भन्दा माथि पोर्न साइटहरु बन्द गरिएको उल्लेख छ, जून निकै कम हो,’ ती अधिकारीले टेक्नोलोजी खबरसँग भने ।

प्राधिकरणको अनुमगनको ३ दिनपछि अर्थात अक्टोबर ५ तारिखमा एनसेलले छुट्टै पत्र पठाएर १८ हजार भन्दा बढि पोर्न साइट बन्द गरेको जानकारी दिएको छ । एनसेलले आफ्नो डेटाबाट हुने आम्दानी गुमाउन नचाहेको देखिएको सो रिपोर्टको बारेमा जानकार ती अधिकारीको दाबी छ ।

‘एनसेलमा अनुगमन गर्दा ३०० भन्दा बढि पोर्न साइट बन्द भएको देखिनु तर लगत्तै पत्र पठाएर १८ हजार साइट बन्द गरिएको भन्नु अचम्म लाग्दो विषय हो,’ ती अधिकारीले भने ।

नेपाल दूरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले पनि एनसेल बाहेक अन्यले २० देखि २५ हजारको हाराहारीमा अश्लिल साइटहरु बन्द गरेको जानकारी आएको बताए ।

‘हाम्रो अनुगनमन शाखाको रिपोर्टमा एनसेलले बन्द गरेको साइटको संख्या कम देखिएको छ, रिपोर्टको आधारमा सबै कम्पनीहरुलाई त्यस्ता अश्लिल र यौनजन्य साइट बन्द गर्न थप निर्देशन दिन्छौं,’ उनले भने ।

प्राधिकरणले पोर्न साइट बन्द गर्ने प्रकृया निरन्तर भएको र त्यसलाई आगामी दिनमा फेरी टोली पठाएर अनुगमन गरिरहने जनाएको छ ।

easy care

प्रकाशित: २३ आश्विन २०७५, मंगलवार