भारतमा इलेक्ट्रोनिक्स सामाग्रीको आयात करमा दोब्बर वृद्धि, बजार मूल्य आकासिने आशंका

काठमाडौँ । छिमेकी मुलुक भारतमा सरकारले विभिन्न इलेक्ट्रोनिक्स सामानको आयातमा शुल्क बढाएको छ । भारतीय रुपैयाँको गिर्दो मूल्यलाई ध्यानमा राख्दै भारतले विभिन्न १९ समानहरुमा आयात शुल्क बढाएको हो, जसमध्ये अधिकांश इलेक्ट्रोनिक्स सामाग्री छन् ।

भारतमा बिहिबारदेखि आयात हुने एसी, फ्रिज, १० किलो भन्दा कमको वाशिंग मेसिन,लगायतका सामाग्रीहरु महंगो हुने भएको हो । भारतले कयौं उत्पादनहरुमा १० प्रतिशतबाट बढाएर २० प्रतिशत आयात शुल्क कायम गरेको छ ।

त्यस्तै आयात बढेको सामाग्रीहरमा स्पीकर, रेडियल कार टायर, वासिंग मेशिनलगायतका छन् ।

भारतमा बढेको आयात शुल्कले बजारमा आयातित इलेक्ट्रोनिक्स सामाग्रीहरुको मूल्यमा पनि वृद्धि हुनेछ । नयाँ शुल्कका कारण बजारमा महंगी निकै बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

नेपाली बजारमा यसको असर ?

भारतमा बढेको आयात शुल्कको असर नेपाली बजारमा पनि पर्न सक्ने संभावना छ । हुनत विदेशबाट आउने सामाग्रीहरु भारत हुँदै आएपनि अहिले बढेको आयात शुल्कले नेपाली सामाग्रीलाई कुनै प्रभाव पार्दैन् । तर पनि नेपालमा आयात हुने अधिकांश इलेक्ट्रोनिक्स सामाग्रीहरु भारतमा उत्पादन भएर आउने गरेका छन् । त्यसैले यसले नेपाली उपभोक्ताहरुलाई पनि मारमा पार्नसक्ने आशंका गर्न सकिन्छ तर यसको प्रभाव कस्तो होला त्यो भने पछि मात्र थाहा हुनेछ ।