ग्यालेक्सी नोट नाइन रिभ्यू: तपाईंले किन्दा खर्च गर्नुभएको रकमको पूर्णरुपमा सदुपयोग

Technology Khabar ११ आश्विन २०७५, बिहीबार

ग्यालेक्सी नोट नाइन रिभ्यू: तपाईंले किन्दा खर्च गर्नुभएको रकमको पूर्णरुपमा सदुपयोग

काठमाडौं ।

काठमाडौं । सामसंगले केहि समय अघि नेपाली बजारमा आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Samsung Galaxy Note 9) सार्वजनिक गरेको थियो । विश्व बजारमा निकै चर्चामा रहेको नोट नाइन नेपाली बजारमा पनि लोकप्रिय प्रिमियम स्मार्टफोनको रुपमा रहेको छ ।

सामसंग नेपालले नेपालमा लन्च गरेको नोट नाइनको बारेमा हामीले यूजर्स एक्सपेरियन्स यहाँ दिने प्रयास गरेका छौं ।

हरेक बर्ष सामसंगको नोट सिरिज बजारमा लंच हुँदा कर्पोरेट क्षेत्रका मान्छे र चित्रकारितामा रुची भएका कलाकारहरुले चलाएको मात्र देखाइन्छ ।

यो बर्ष भने नोट पहिला जस्तो रहेन । नोट ९ ले सेल्फी लिने जमातलाई पनि उत्तिनै तान्न खोजेको देखिन्छ । आफ्नो एस-पेनको ब्लुटुथबाट सेल्फी र गेम खेल्ने जमातलाई आफ्नो नयाँ कुलिंग फिचरले र सर्वाधिक रुचाइएको फोर्टनाइट गेम फ्रीमा समावेश गरेर तान्ने पनि उत्तिनै जमर्को गरेको छ ।

आउनुस बिस्तृतमा नोट ९ का सबै पक्षबारे आंकलन गरौँ ।

डिजाइन:

नोट ९ अरु फोन भन्दा अलि ठुलो र चौडा छ जसले गर्दा एक हातले चलाउन अलि गार्हैछ । यो फोन अन्य फोन भन्दा तौलमा अलि भारी पनि छ । सामान्य जिन्स पेन्टको गोजीमा पनि फोन अलि कति बाहिरै निस्केर बस्छ । फोनमा एक हात ले चलाउन मिल्ने फिचर पनि छ जसले स्क्रिन भित्रको चिजलाई सानो पारेर एउटा कुनामा राखी दिन्छ । फोनको पछाडी पट्टि म्याट फिनिश छ जसले फोन हातबाट चिप्लिन दिन्न तर नोट ८ जस्तो गोलो कुनाहरु नभइ अलि तिखो छन् । फोन बाहिर बाट पनि उत्तिनै प्रिमियम देखिन्छ जति भित्रका पक्षहरु छन् ।

एस-पेन को डिजाइन भने पहिले जस्तै छ तर आन्तरिक हार्डवेयरमा परिवर्तन गरिएको छ । यसमा ब्लुतुथ जडान गरिएको छ जसले सेल्फी खिच्न, प्रेजेन्टेसन दिन निकै सजिलो बनाउँछ ।

डिस्प्ले :  

नोट ९ मा ६.४ इन्चको ठुलो सूपर एमोलेड क्वाड एचडी डिस्प्ले छ । यो फोन हरुमा सर्वाधिक राम्रो डिस्प्ले मानिन्छ । यो डिस्प्ले ले सबै प्रकारका डिटेलहरु राम्ररी देखाउँछ साथै पढ्नको लागि पनि शब्दहरु सुस्पष्ट देखिन्छ जुन तपाईँले फोन चलाउँदा अनुभव गर्न सक्नु हुनेछ । घाममा चलाउँदा पनि यसको डिस्प्ले निकै उज्वल भइदिन्छ र सबै कुरा सजिलै हेर्न सकिन्छ ।

क्यामरा फिचर:

नोट ९ फिचरका हिसाबले निकै अव्वल छ । सबैभन्दा तिब्र गतिको प्रोसेसर, टप क्लास क्यामेरा, आइरिस स्क्यानर, अगाडि ८ मेगापिक्सलको क्यामेरा जसले अँध्यारोमा पनि राम्रो तस्बिर खिच्छ । नोट ९मा पछाडी १२+१२ मेगा पिक्सलको अत्यधिक राम्रो डुअल क्यामेरा राखिएको छ, जसमा एआई (AI) फिचर पनि पाइन्छ ।

AI फिचरले क्यामेरामा देखिन सिन आफै पहिचान गरेर त्यहि अनुसारको सेटिंग आफै मिलाएर तस्बिर राम्रो बनाउन मदत गर्छ । यस क्यामेरामा OIS छ जसले हल्लिएको फोटो तथा भिडियोलाई स्थिर पारी राम्रो परिणाम दिन्छ । हामीले नोट ९ बाट लिएका फोटो तथा भिडियो पनि निकै राम्रो पायौं ।

ब्याट्री प्याक:

यसमा USB TYPE-C पोर्ट छ जसले फास्ट चर्जिंगमा मदत पुर्याउछ । यस फोनमा ४०००एमएएचको ब्याट्री छ जसले फोन दिनभर चलाउन मजाले पुग्छ । नोट ९ ले ब्याट्री धेरै बेर टिक्ने गरी आफ्नो सफ्टवेर पनि त्यहि अनुकुल परिमार्जन गरेको छ ।

समसंगले आफ्नो सफ्टवेरबाट पनि पहिला जस्तो स्लो हुने, ह्यंग हुन सक्ने जस्ता कमी कमजोरीमा व्यापक सुधार ल्याएको छ । यसमा गेम खेल्नेहरुको लागि पनि लिक्विड कुलिंग दिएको छ ।

हाम्रो अनुभवमा सामस‌ंगको बिक्सबी Bixby मा भने धेरै सुधार आएको देखिएन र बिक्सबी बटन पनि बिक्सबीको ठाउँमा अरु खुल्ने बनाउन मिलेको भए राम्रो हुनेथियो ।

हाम्रो अनुभवमा फोनको समग्र प्रदर्शन निकै राम्रो छ । हामीले धेरै मेमोरी खाने तान्ने  एप्स चलायौं तर पनि फोन आरामले चलिरह्यो कहिँ कतै स्लो भएको पाइएन । फोन उल्लेखनीय तरिकाले तातिएको पनि पाइएन जुन निकै राम्रो पक्ष हो ।

नोट ९ का सवल पक्षहरु

– ठुलो र सुन्दर डिस्प्ले

– ठुलो र धेरै टिक्ने ब्याट्री

– एकदमै फास्ट र धेरै मेमोरी छान्न मिल्ने

-अझ राम्रो एस-पेन

-अन्य देश भन्दा नेपालमा सस्तो

नोट ९ का केहि निराशाजनक पक्ष

– त्यहि पुरानै लुक्स र डिजाइन

– फिंगरप्रिन्ट रिडरको पोजिसन अलि असजिलो ठाउँमा

निष्कर्ष:

सामसंग नोट ९ मा हामीले सोच्न सक्ने सबै कुरा समावेश गरिएको छ । डिजाइन पुरानै जस्तो देखिए पनि फोन निकै अाकर्षक छ । नेपाली उपभोक्तालाई फोनको मूल्य अत्यधिक लाग्न सक्ला तर नोट ९ मा तपाईंले खर्च गर्नुभएको रकमको पूर्णरुपमा सदुपयोग हुनेछ ।

तपाईंसंग नोट नाइन छ भने कस्तो अनुभव गरिरहनु भएको छ हामीलाई प्रतिक्रिया दिनु होला । यो फोन किन्न चाहनु हुन्छ र त्यसको बारेमा केहि जिज्ञासा छ भने हामीलाई निर्धक्क भइ सोध्न सक्नुहुन्छ ।

टेक्नोलाेजी खबरका लागि विवेक मिश्रको रिभ्यू

Sajilo Visa

प्रकाशित: ११ आश्विन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार