प्राधिकरणद्धारा सेवा प्रदायकलाई यौनजन्य तथा अश्लिल वेबसाइट बन्द गर्न निर्देशन, नगरे अनुमति नै रद्ध गरिने

Technology Khabar ९ आश्विन २०७५, मंगलवार

प्राधिकरणद्धारा सेवा प्रदायकलाई यौनजन्य तथा अश्लिल वेबसाइट बन्द गर्न निर्देशन, नगरे अनुमति नै रद्ध गरिने
Classic Tech

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले यौनजन्य तथा अश्लिल सामाग्रीहरुको आदान प्रदान तथा प्रकाशन प्रशारणमा रोक लगाउने गरि नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मन्त्रालयको निर्देशनअनुसार त्यस्तो सामाग्रीहरुको पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेबसाइटहरु बन्द गर्न सबै दूरसंचार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता तथा निर्देशक मिन प्रसाद अर्यालले सेवा प्रदायकहरु सबैलाई प्राधिकरणले पत्र पठाएर नै निर्देशन दिएको र त्यस्ता सामाग्री तथा वेबसाइटहरु पूर्णरुपमा बन्द गरिने बताए ।

‘हामीले यस्तो निर्देशन दूरसंचार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई नियमित दिईरहेका हुन्छौं र यसअघि पनि यस्ता वेबसाइटहरु बन्द गरिरहेका थियौं । अहिले फेरी निर्देशन दिएका छौं,’ उनले टेक्नोलोजी खबरसँग भने ।

उनकाअनुसार त्यस्तो साइटहरु बन्द नगर्ने वा सामाग्रीहरुको पहुँचमा रोक नलगाउने र निर्देशनको पालना नगर्ने सेवा प्रदायकको दूरसंचार ऐन २०५३ अनुसार जरिवानासाथै अनुमति पत्र रद्धसम्म गरिनेछ ।

सेवा प्रदायकले लाइसेन्स लिँदा नै प्राधिकरणको निर्देशन पालना गर्नुपर्ने शर्त उल्लेख हुन्छ ।

प्राधिरकणले सो बारेमा सार्वजनिक सूचना नै प्रकाशित गरिसकेको छ भने सेवा प्रदायक कम्पनीहरुलाई पत्र मार्फत पनि निर्देशन दिएको छ ।
पत्रमा प्राधिकरणले यसअघि नै २०६९ सालमा प्रतिबन्ध गरिएका वेबसाइटहरुको लिस्ट पठाउँदै त्यसमा थप वेबसाइटहरुको जानकारीसहित निर्देशन दिएको हो । त्यसैगरि नेपाल प्रहरीले उपलब्ध गराएको वेबसाइटहरुको नामावली पनि सेवा प्रदायकहरुलाई पठाएर बन्द गर्न निर्देशन दिएको छ ।

सोहि विषयमा प्राधिकरणले सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुसँग मंगलबार नै छलफल गरेको छ । कसरी त्यस प्रकारका वेबसाइट र सामाग्रीहरुको पहुँचमा रोक लगाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताईएको छ ।

TK Viber

प्रकाशित: ९ आश्विन २०७५, मंगलवार

Loading...