दूरसंचार प्राधिकरण अध्यक्ष झालाई मन्त्रालयको ५ बुँदे फुकुवा पत्र, कार्य योजना १५ दिनभित्र बुझाउनुपर्ने

Technology Khabar ७ आश्विन २०७५, आईतवार

दूरसंचार प्राधिकरण अध्यक्ष झालाई मन्त्रालयको ५ बुँदे फुकुवा पत्र, कार्य योजना १५ दिनभित्र बुझाउनुपर्ने
संचार तथा सूचना प्रविधि मन्त्रालय भवन । फाइल फोटो ।

अनुज राज

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई काम गर्ने बाटो खोलिदिएको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले आइतवार पत्र पठाउँदै प्राधिकरणलाई यसअघि काम रोक्न दिएको निर्देशन खारेज गर्दै कार्यकारी अधिकार फिर्ता गरेको हो ।

मन्त्रीपरिषदको निर्णयको आधारमा मन्त्रालयले प्राधिकरणलाई अध्यक्षको कार्यकारी अधिकार समेत प्रयोग गर्न सक्नेगरि निर्देशन दिईएको मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र ढकालले टेक्नोलोजी खबरलाई जानकारी दिए ।

‘यसअघिको ४ बुँदे निर्देशन खारेज गरेर प्राधिकरणलाई आइतवार ५ बुँदे निर्देशनसहितको पत्र पठाएका छौं, सोहि आधारमा सम्पूर्ण अधिकार फुकुवा भएको छ,’ प्रवक्ता सहसचिव ढकालले भने ।

सो पत्रमा प्राधिकरण अध्यक्ष झालाई यसअघिको पत्र खारेज गरेको र थप ५ बुँदाको निर्देशन दिईएको छ । पाँच बुँदाहरुमध्ये प्राधिकराण्ले लाइसेन्स प्रकृयालाई पारदर्शि बनाउँदै एकरुपता कायम गर्नुपर्ने निर्देशन छ भने अर्को बुँदामा फ्रिक्वेन्सी बितरणमा पारदर्शिता कायम गर्दै व्यवस्थित बनाउनुपर्ने उल्लेख छ ।
त्यस्तै अर्को बुँदामा टेलिकम क्षेत्रको समग्र गुणस्तर सुधार कायम गर्नेतर्फ कदम चाल्नुपर्ने निर्देशन छ भने अर्कोमा टेलिकम क्षेत्रको विकासको लागि प्राधिकरणले गर्न सक्ने कार्यहरु स्पष्टरुपमा देखाउनुपर्ने राखिएको छ ।

प्राधिकरणलाई पठाएको पत्रमा ग्रामीण दूरसंचार विकास कोषको रकमबाट नेपालको सबै क्षेत्र र तहमा दूरसंचारको विकास र इन्टरनेट पुर्याउने आधार तय गर्नुपर्ने निर्देशन दिईएको छ ।

सो पत्रमा यसअघि प्राधिकरणको काम कारबाहि बारे अध्ययन गर्न गठन भएको समितीले दिएको सुझावको आधारमा प्राधिकरणले आगामी दिनमा काम गर्न समेत निर्देशन दिईएको मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।

अध्ययन समितीको सुझावको आधारमा प्राधिकरणले १५ दिनभित्र प्राधिरकणको सुधार र गर्नुपर्ने कार्यहरु मन्त्रालयमा बुझाउनुपर्ने निर्देशन समेत दिईएकोछ, प्रवक्ता सहसचिव ढकालले भने ।

प्राधिकरणले १५ दिनमा बुझाउने कार्य बिबरण र आगामी योजनाको आधारमा  मन्त्रालयले पुन: निर्देशन दिनेछ ।

यसअघि प्राधिकरणको अध्यक्ष भएको बेलामा नै झालाई कुनैपनि दिर्घकालिन रणनीतिका निर्णयहरु नगर्नको लागि निर्देशन दिँदै मन्त्रालयले पत्र दिएको थियो । त्यसैगरि उनको र प्राधिकरणको काम कारबाहिको बारेमा अध्ययन गर्न समिती गठन गरिएको थियो ।

प्रकाशित: ७ आश्विन २०७५, आईतवार

Comments are closed.

Loading...