यस्तो छ शाओमीको १५.६ इन्चको नयाँ एमआई नोटबुक

काठमाडौं । शाओमीले चीनमा नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले एमआई नोटबुकको (Mi Notebook) तीन नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको यो ल्यापटप बजेट सेगमेन्टमा आएको छ । जसमा इन्टेलको आठौं पुस्ताको इन्टेल कोर प्रोसेसर तथा एसएसडी स्टोरेज राखिएको छ ।

एमआई नोटबुकको बेस भेरिएन्टमा ४ जीबी र्याम तथा कोर आई फाइभ प्रोसेसर छ भने मिड रेन्जको भेरिएन्टमा सोहि स्पेकका साथमा ८ जीबी र्याम रहेको छ । यसको टप भेरिएन्टमा ८ जीबीको र्यामका साथै आठौं पुस्ताको इन्टेल कोर आइ सेभेन प्रोसेसर राखिएको छ । यसका साथै यसको तीन वटै भेरिएन्टमा १५.६ इन्चको फुलएचडी स्क्रीन रहेको छ ।

टप भेरिएन्टमा १ टिबी हार्ड ड्राइभका साथै १२८ जीबीको एसएसडी राखिएको छ ।

ल्यापटपमा २ जीबी भीर्यामका साथमा एनभिडिया जीफोर्स एमएक्स ११० जीपीयू रहेको छ । कनेक्टिभिटीका लागि दुईवटा यूएसबी २.० पोर्ट, दुईवटा यूएसबी ३.०, एचडिएमआई, इथरनेट पोर्ट, कार्ड रिडर तथा हेडफोन ज्याक राखिएको छ । यी सबै ल्यापटपमा फुल फीचरको की बोर्ड राखिएको छ ।

माइक्रोसफ्टको विण्डोज १० मा आधारित यी ल्यापटपहरु अगस्त २८ तारिखदेखि बजारमा उपलब्ध हुनेछन् ।

यी ल्यापटपहरुको मूल्य ३,९९९ यूआनदेखि शुरु हुनेछ भने मिड भेरिएन्टको ४,४९९ र हाई एण्ड भेरिएन्टको मूल्य ४,९९९ यूआन तोकिएको छ ।