आइसिटी अवार्ड २०१८ सम्पन्न, ७ विधामा ९ जनालाई वर्षको सर्वोत्कृष्ट सम्मान

Technology Khabar ३ भाद्र २०७५, आईतवार

आइसिटी अवार्ड २०१८ सम्पन्न, ७ विधामा ९ जनालाई वर्षको सर्वोत्कृष्ट सम्मान

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहित अतिथिहरुले सम्मान गरेका थिए ।

सोअवसरमा बोल्दै मन्त्री बास्कोटाले सरकारले आइसिटी क्षेत्रका लागि आवश्यक नीति र पूर्वाधारको वातावरण तयार पारिरहेको बताए । समाज सरलबाट जटिलतर्फ जाने चर्चा गर्दै उनले मानिसको जीवन सहजताका लागि नयाँ प्रविधिको विकास भइरहेको बताए ।

‘यो क्षेत्रमा सम्भावनाको खोजी गर्दै नयाँ पुस्तालाई भविष्य छ भनेर चिनाउन र हरेक चुनौतीलाई सबैले मिलेर सामना गर्न आवश्यक छ,’ उनले भने ।

विभिन्न विधाका विजयीहरुलाई मन्त्री बास्कोटासहित विभिन्न मन्त्रालयका सचिव, नेपालका सरकारका विभिन्न विभागका प्रमुख , आइटी क्षेत्रका उद्योगी एवं व्यवसायी, बैंकिङ तथा इन्सुरेन्स, शिक्षण तथा टेलिकम क्षेत्रका प्रमुखहरु सहित ४ सय ५० बढिकोे उपस्थिती रहेको थियो ।

आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रका विकास र विस्तारमा उत्कृष्टतको खोजी गर्ने अभियान भएको अवार्ड समितीका अध्यक्ष राजन लम्सालले बताए । प्रविधिको क्षेत्रमा अग्रजलाइ सम्मान र नयाँलाई प्रोत्साहनको प्लेटफर्म विकास गरिएको लम्सालले कार्यक्रममा जानकारी दिए ।

कसलाई कुन अवार्ड ?

आइसिटी अवार्डमा कुल ७ विधा रहेका थिए । यसअन्तर्गत आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए । साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो । सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो ।

१० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट उत्कृष्ट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो । नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । चाँडै नै नेपाल पुलिस नामको इन्टिग्रेटेड एप्लिकेशन पनि ल्याउने तयारीमा प्रहरी जुटेको छ । अवार्ड ग्रहण गर्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सरकारको डिजिटलाइजेसनको अभियानसँगै प्रहरी सूचना प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढेको बताए ।

आइसिटी पायोनियर अवार्ड सञ्जीव राजभण्डारीलाई

तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास र विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड प्राप्त गरेका छन् । राजभण्डारीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा भित्र्याउने, बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर निमार्ण गर्नेदेखि सूचना प्रविधिका महत्वपूर्ण प्रडक्टहरुको बजारीकरण गर्न योगदान दिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत यो क्षेत्रको उत्थानमा उनी सक्रिय रहँदै आएका छन् ।

विश्वास ढकाललाई आइसिटी आन्ट्रप्रेनर अवार्ड

एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आइसिटी आन्ट्रप्रेनर अवार्ड प्राप्त गरे । विद्यार्थी जिवनमा एउटा कोठाबाट सुरु भएको एफ वान सफ्टमार्फत् उनले ४५० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् । हाल एफवान सफ्टअन्तर्गत ई सेवालगायत १५ कम्पनी सञ्चालनमा छन् ।

पिपुल डेभलपमेन्ट ल्याबलाई आइसिटी स्टार्टअप अवार्ड

मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ । निर्णायक र अनलाइन भोटिङको आधारमा पहिलो हुन सफल यस कम्पनीले प्रविधिको माध्यमबाट मानिसलाई करियर गाइड गर्ने, कोचिङ प्रदान गर्ने र उनीहरुको लिडरसिप प्रोसेसलाई नयाँ रुपले मूल्याकंन र परिभाषित गर्ने गर्दछ ।

आइ–सोलुसन्स लाइफलाई आइसिटी प्रडक्ट अवार्ड

दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफले आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो । यो प्रडक्ट लाइफ इन्सुरेन्स कम्पनी, पोलिसी मार्केट, एजेन्सी मार्केट, इन्सुरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । हाल ६ प्रमुख बीमा कम्पनीहरुमा समेत यसको प्रयोग गरिएको छ ।

सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड

अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ । आइसिटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथी उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ ।

आइसिटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई

त्यसैगरी अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपफ्रग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसिटी डायस्पोरा अवार्ड प्रदान गरियो । हाल अमेरिकामा रहेका उनले नेपालको सूचना प्रविधि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्दै आएका छन् ।

आइसिटी मिडिया रिकग्निसन अवार्ड न्यौपाने र साउदलाई

त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्धय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् । आइसिटीलाई मुख्य विधा बनाएर पत्रकारिता गरेका पत्रकारलाई यो अवार्ड वितरण गरिन्छ ।

TK Viber

प्रकाशित: ३ भाद्र २०७५, आईतवार

Loading...