मेगा बैंकबाट १५ हजार रुपैयाँ मासिक किस्तामा गाडी

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेश लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार, नारायणी अटो बिजनेश लिमिटेडबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ ।

ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।