सामाजिक संजाल फेसबुकमा नेपालीहरुले स्पेनिस ला लिगा निशुल्क हेर्न पाउने

काठमाडौं । अब नेपालीहरुले फेसबुकमा ला लिगाका सबै खेलहरु निशुल्क हेर्न पाउने भएका छन् । स्पेनिस टप फुटबल डिभिजन लिग ला लिगाले मंगलबार फेसबुकसँग डिल गरेको घोषणा गरेको छ । कम्पनीले फेसबुकसँग दक्षिण एशियाली मुलुकहरुमा प्रत्येक खेलहरु निशुल्क हेर्न पाउने सम्झौता गरेको छ ।

सम्झौतापछि ला लिगाका आगामी तीन सिजनका सबै खेलहरु सामाजिक संजालमा निशुल्क हेर्न पाईने भएको हो ।

ला लिगाकाअनुसार यहि शुक्रबारदेखि शुरु हुने नयाँ सिजनका सबै ३८० लिग म्याचहरु नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तानमा दर्शकहरुका लागि उपलब्ध हुनेछ ।

‘भारतीय उपमहाद्धिप जस्तो महत्वपूर्ण क्षेत्रमा निशुल्क हेर्न दिँदा हामी निकै खुशी भएका छौं,’ ला लिगाका डिजिटल स्ट्राटेजी हेड अल्फ्रेडो बर्मेजोले भने ।

भारतमा रहेको २७० मिलियन फेसबुक प्रयोगकर्ताहरु निकै महत्वपूर्ण भएको उनको भनाई थियो ।

यो सम्झौता कति रुपैयाँमा भएकोभन्ने बारेमा दुबै पक्षले कुनै उल्लेख गरेका छैनन् ।

स्पेनिस फुटबल लिग ला लिगाका खेलहरु भारतीय उपमहाद्धिपमा सोनी पिक्सर्च नेटवर्कले प्रदर्शनको अधिकार लिएको छ । सोनीले सन् २०१४ देखि २०१८ सम्मका लागि ३२ मिलियन डलरमा अधिकार किनेको थियो ।

फेसबुकले सन् २०१७ देखि मेजर लिग बेसबल गेमहरु साप्ताहिकरुपमा प्रशारण गरेर स्पोर्टस स्ट्रिमिंग शुरु गरेको थियो ।

फेसबुकका ग्लोबल लाइभ स्पोर्टस निर्देशक पिटर ह्यूटनले ला लिगासँगको डिस एउटा परिक्षणको रुपमा व्याख्या गरे ।

स्रोत