Technology Khabar २० श्रावण २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर तान्नका लागि प्रयोग गरिने बिजुलीको खम्बा (पोल) को सेवा शुल्कमा वृद्धि गरेको छ ।
यसअघि नै प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर बिजुलीको पोल प्रयोग गरेबापत शुल्क तिर्न र नतिर्ने कम्पनीहरुको तार काटिने चेतावनी दिएको थियो ।
नयाँ बढेको शुल्कअनुसार अब बिजुलीको पोल प्रयोग गरेबापत इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले थप शुल्क तिनुपर्ने भएको छ ।
सेवा प्रदायक कम्पनीहरुलाई तार बितरणको आधारमा दुई वर्गमा विभाजन गरिएको छ जसमा पहिलो प्रकारमा ब्याक बोन केबल बितरण अर्थात एक ठाउँबाट केबल तानेर बीचमा नछुटाई लक्षित बिन्दुसम्म पुर्याउने हो भने अर्को वर्गमा डिष्ट्रिब्यसन अप्टिकल फाइबर अर्थात एक ठाउँबाट विभिन्न क्षेत्रमा वितरण गरिने हुन् ।
कति लाग्छ शुल्क
ब्याक बोन केबल बितरण शुल्कमा प्राधिकरणले ९५ रुपैयाँ वृद्धि गरेको छ । ब्याक बोन केबल तान्दा नयाँ दर अनुसार मासिक प्रतिकिलोमिटर प्रतिकोर ३ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ, यसअघि यस्तो शुल्क प्राधिकरणले २ सय ५ रुपैयाँ मात्र लिँदै आएको थियो ।
त्यस्तै डिष्ट्रिब्यसन अप्टिकल फाइबर सेवाका लागि भने २४ कोरसम्म मासिक १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । २५ देखि ४८ कोरसम्म मासिक १९ हजार रुपैयाँ र ४९ कोरभन्दा माथिको लागि मासिक २७ हजार रुपैयाँ सेवा शुल्क प्राधिकरणलाई तिर्नुपर्ने हुन्छ ।
यसअघि डाटा ट्रान्सफर सेवा अर्थात इन्टरनेट, टेलिफोन, डेड इण्ड प्वाइन्टसम्म क्रमशः वार्षिक १४ हजार ६ सय ३० रुपैयाँ, १६ हजार ९३ रुपैयाँ र १३ हजार १ सय ६७ रुपैयाँ तोकिएको थियो । धेरै कोर राखेर सेवा दिनेका लागि बढि शुल्क तोकिएको थियो । तर अब एउटै गुणस्तरीय कोर राख्दा शुल्क कम हुने बताईएको छ ।
यसैगरि प्राधिकरणले बिस्तार गरेको अप्टिकल फाइबर ग्राउण्ड वार सेवाको पनि नयाँ शुल्क निर्धारण गरिएको छ । सेवा प्रदायकले ३३ केभी भोल्टेजको अप्टिकल फाइबर प्रयोग गर्दा मासिक प्रति किलोमिटर प्रति कोर २ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । ६६ केभी भोल्टेज भएको अप्टिकल फाइबर प्रयोग गर्दा भने प्रतिकोर प्रतिकिलोमिटर ६ हजार रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।
विद्युत प्राधिकरणले देशभर नै ६६ केभीभन्दा बढि क्षमताका प्रसारण लाइनका साथमा अप्टिकल फाइबर राखेको छ ।
इन्टरनेट सेवा प्रदायक, केबल टेलिभिजन सेवा प्रदायकहरुले ग्राहकहरुको बासस्थानसम्म सेवा दिनका लागि विद्युत प्राधिकरणको बिजुलीको पोल तथा नेपाल टेलिकमको टेलिफोन पोल प्रयोग गर्दै आएका छन् ।
प्रकाशित: २० श्रावण २०७५, आईतवार