मेगा बैंक नवौँ बर्षमा प्रवेश, तीन वटा नयाँ कर्जा योजना सार्वजनिक

Technology Khabar ७ श्रावण २०७५, सोमबार

मेगा बैंक नवौँ बर्षमा प्रवेश, तीन वटा नयाँ कर्जा योजना सार्वजनिक

काठमाडौं ।

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ । आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित बार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले चुक्तापुँजीका रुपमा देशकै दोस्रो ठूलो बैंकको रुपमा स्थापित हुनसक्नु मेगा बैंकको सफलता भएको बताए ।

चुक्ता पुँजी, व्यावसायको आकार, कर्मचारी संख्या र नेटवर्कका हिसाबले पनि मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकाले चालु आर्थिक बर्ष २०७५/७६ देखि मेगा बैंकको मुनाफामा निकै बृद्धि हुने उनले दाबी गरे । अध्यक्ष शाहले आगामी चार बर्षभित्र बैंकको आफ्नै कर्पोरेट भवन बनाउने जानकारी पनि दिए ।

‘विज्ञहरुसँगको परामर्शमा हामीले पाँच बर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौँ,’ उनले भने ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा बैंक नेपालको बैंकिङ क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताईन् ।

‘ग्राहकहरुको चाहना अनुसार लोकप्रिय र नवीनतम सुविधाहरु सँधै हाम्रो प्राथमिकतामा छन् । अनलाइन ट्रेड सर्भिस, फास्ट ट्रयाक ग्यारेन्टी इसुऐन्स, अनलाइन खाता खोल्ने जस्ता सेवालाई ग्राहकले अत्याधुनिक मन पराइदिनुभएको छ । आगामी दिनमा झनै आकर्षक सुविधाहरु ल्याउने हाम्रो तयारी छ,’ सिइओ खुञ्जेलीले भनिन् ।

बार्षिकोत्सवको अवसरमा सिइओ खुञ्जेलीले तीन वटा आकर्षक कर्जा योजनाहरु पनि सार्वजनिक गरिन् । साना तथा मझौला व्यावसायको प्रबर्धनका लागि ‘मेगा साना तथा मझौला कर्जा’, आवास तथा गाडी लिन चाहने मध्यमवर्गीय नेपालीका लागि ‘मेगा घर तथा गाडी कर्जा’ र विभिन्न पेशा व्यावसायमा संलग्नहरुलाई बिनाधितो ऋण प्रदान गर्ने गरी ‘मेगा प्रोफेशनल लोन’ योजना सार्वजनिक गरिएको छ । यी तीन वटै कर्जा योजनाहरु ग्राहकले मेगा बैंकको जुनसुकै शाखाबाट प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय गरिने र ७ दिनभित्र कर्जा प्रवाह गरिने सिइओ खुञ्जेलीले बताईन् ।

वार्षिकोत्सवका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौँको महाराजगन्जमा संचालित पौरखी नेपाल र उपल्लो डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १–१ लाख रुपैँया सहयोग गरेको छ । एक सय जना गरिब तथा अनाथ बालबालिकालाई पौरखी नेपालमार्फत शिक्षाको दिने योजना अन्तरगत मेगा बैंकले एक लाख रुपैँया सहयोग गरेको जानकारी दिएको छ।

मेगा बैंकले १०१ वटा शाखा, १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

easy care

प्रकाशित: ७ श्रावण २०७५, सोमबार

ताजा समाचार