Technology Khabar २ श्रावण २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । इन्टरनेट सोसाइटी नेपालले इन्टरनेटमा सरकारले लगाएको दूरसंचार सेवा शुल्क तत्काल हटाउन माग गरेको छ ।
इन्टरनेट सोसाइटीले दक्षिण एशियाली मुलुक र दक्षिण पूर्वी एशियाली मुलुकहरुभन्दा नेपालमा इन्टरनेट सेवा यसअघि नै निकै महंगो भएको भन्दै सरकारले लगाएको दूरसंचार सेवा शुल्क हटाउन माग गरेको हो । त्यस्तो अतिरिक्त शुल्कले नेपाली प्रयोगकर्ताहरुलाई थप त्रास सिर्जना गर्ने सोसाइटीको भनाई छ ।
सरकारले नै पहुँच नपुगेका आधा जनसंख्यासम्म इन्टरनेट पुर्याउने सरकारले नीति अबलम्बन गरेको अवस्थामा यस्तो कदमले आगामी दिनमा डिजिटल विभेद बढाउने दाबी इन्टरनेट सोसाइटीको छ ।
दूरसंचार सेवा शुल्कले स्टार्ट अप्स, साना तथा मझौला व्यवसायहरु जो डिजिटलमा जान चाहन्छन र प्रविधिको लाभ लिन चाहन्छन त्यस्तालाई निरुत्साहित गर्ने सोसाइटीको ठहर छ ।
डिजिटल नेपाल र स्मार्ट सिटीको महत्वाकांक्षा बोकेको र निशुल्क वाईफाई जोनको व्यवस्थालगायतलाई पनि यस्तो योजनाले नकारात्मक असर पार्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इन्टरनेट सोसाइटी नेपालले इन्टरनेटमा पहुँचले एक अधिकारका साथै विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलगायतका अन्य अधिकारहरुका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्तो शुल्क तत्काल हटाउन माग गरेको हो ।
प्रकाशित: २ श्रावण २०७५, बुधबार