Technology Khabar २५ असार २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । सामसंगले विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतमा स्थापना गरेको छ । सो नयाँ फ्याक्ट्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले सोमबार संयुक्तरुपमा उद्घाटन गरे ।
कन्जूमर इलेक्ट्रोनिक्स ब्राण्डमा विश्वको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसंगले भारतको नोयडामा विश्वको सबैभन्दा ठूलो मोबाइल फ्याक्ट्री बनाएको हो । नोयडामा सो फ्याक्ट्री ३५ एकडमा फैलिएको छ ।
भारतमा सन् १९९० को दशकमा पहिलो इलेक्ट्रोनिक उत्पादन केन्द्र स्थापित भएको थियो जसमा १९९७ मा टेलिभिजन उत्पादन शुरु गरिएको थियो । हालको मोबाइल फ्याक्ट्री सन् २००५ मा स्थापना गरिएको थियो ।
गत वर्ष दक्षिण कोरियाली कम्पनी सामसंगले ४,९१५ भारतीय रुपैयाँको लगानी गरेर नोयडाको संयन्त्र बिस्तार गर्ने घोषणा गरेसँगै नयाँ फ्याक्ट्रीको उत्पादन क्षमता बिस्तार गरिएको हो ।
भारतमा कम्पनीले हाल ६ करोड ७० लाख स्मार्टफोन बनाउने गरेको छ भने नयाँ फ्याक्ट्री शुरु भएसँगै यसले १२ करोड मोबाइल फोन उत्पादन गर्न सक्दछ ।
नयाँ फ्याक्ट्रीमा मोबाइल बाहेक सामसंगका कन्जूमर इलेक्ट्रोनिक सामानहरु समेत उत्पादन हुनेछ ।
सामसंगले भारतमा नोयडाका साथै तामिलनाडुको श्रीपेरुं बदूरमा फ्याक्ट्री संचालन गरिरहेको छ । सामसंगले भारतमा पाँचवटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्सर तथा नोयडामा एउटा डिजाइन केन्द्र संचालन गरिरहेको छ, जसमा ७० हजार मानिसहरु कार्यरत रहेका छन् ।
प्रकाशित: २५ असार २०७५, सोमबार