दूरसंचार प्राधिकरणमा अध्यक्ष र सदस्य नियुक्ति प्रकृया शुरु हुँदै, यस्तो छ कानूनमा व्यवस्था

Technology Khabar २५ असार २०७५, सोमबार

दूरसंचार प्राधिकरणमा अध्यक्ष र सदस्य नियुक्ति प्रकृया शुरु हुँदै, यस्तो छ कानूनमा व्यवस्था

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष तथा एक सदस्यलाई पदमुक्त गरिएको पत्र दिएसँगै सरकारले नयाँ अध्यक्ष र सदस्यको छनौट प्रकृया शुरु गर्न लागेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणमा नयाँ अध्यक्ष तथा नयाँ सदस्य छनौट गर्नको लागि दूरसंचार ऐनमा तोकिएअनुसार नयाँ प्रकृया शुरु गर्न लागेको हो ।

त्यसको लागि मन्त्रालयले नयाँ सूचना निकाल्नुपर्ने हुन्छ र त्यस्तो प्रकृया सरकारले गठन गरेको छनौट तथा सिफारिस समितीले गर्दछ । छनौट तथा सिफारिस समिती गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदैछ ।

सकेसम्म छिटो नयाँ अध्यक्ष छनौट गर्ने तयारीअनुसार छनौट तथा सिफारिस समिती गठनका लागि मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा जाँदै गरेको स्रोतले जानकारी दिएको छ ।

‘मन्त्रालयले नयाँ अध्यक्ष र सदस्य छनौटको प्रकृया शुरु गरिसकेको छ, ऐनमा तोकिए बमोजिम सकेसम्म छिटो काम हुन्छ,’ स्रोतले भन्यो ।

मन्त्रिपरिषदले स्विकृती दिने बित्तिकै छनौट तथा सिफारिस समिती गठन हुनेछ भने त्यस्तो समितीले नयाँ अध्यक्ष र सदस्य नियुक्तिको प्रकृया शुरु गर्नेछ ।

नयाँ नियुक्तिको लागि मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर नयाँ अध्यक्ष र सदस्यको लागि आवेदन माग गर्नुपर्ने हुन्छ । आवेदकहरु मध्येबाट नै दूरसंचार प्राधिकरणमा नयाँ अध्यक्ष र सदस्य नियुक्ति गरिनेछ ।

के छ ऐनमा ?

दूरसंचार ऐन २०५३ को दफा ५ मा प्राधिकरण गठनको बारेमा उल्लेख छ । दफा ५(१)मा भनिएको छ- ‘प्राधिकरणमा दूरसंचार सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानूनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्षसहित पाँचजना सदस्यहरु रहनेछन् ।’

त्यस्तै सोहि दफाको उपदफा २ मा अध्यक्ष र सदस्यहरुको नियुक्तिको बारेमा लेखिएको छ ।

‘प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न नेपाल सरकारले सम्बद्ध क्षेत्रका विज्ञहरु समेत रहेको एक समिति गठन गर्नेछ र सो समितिको सिफारिशमा नेपाल सरकारले अध्यक्ष तथा सदस्यको नियुक्ति गर्नेछ,’ एेनमा लेखिएको छ ।

नियमावलीमा के छ ?

ऐनमा अध्यक्ष र सदस्यको नियुक्तिको बारेमा उल्लेख छ भने दूरसंचार नियमावली २०५४ मा दूरसंचार प्राधिकरणका अध्यक्ष र सदस्यहरुको योग्यतासम्बन्धि लेखिएको छ ।

सो नियमावलीको परिच्छेद २ को दफा ३ मा अध्यक्ष र सदस्यको योग्यता उल्लेख छ । जसमा, ‘प्राधिकरणको अध्यक्ष तथा सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा (१) मा उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तीमा दश वर्ष र सदस्यको हकमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्नेछ,’ उल्लेख छ ।

 

यहि ऐन तथा नियमावलीको आधारमा सरकारले छनौट समिती गठन गर्नेछ भने सो समितीले अध्यक्ष र सदस्यको न्यूनतम मापदण्ड तोकेर निश्चित समयभित्रमा आवेदन माग गर्नेछ । सो आवेदकहरुमध्येबाट नै नयाँ अध्यक्ष तथा सदस्यको छनौट गर्नुपर्ने हुन्छ ।

प्राधिकरणमा नियुक्त भएका अध्यक्ष तथा सदस्यहरुको पदावधि पाँच वर्षको हुने ऐनमा नै व्यवस्था रहेको छ ।

easy care

प्रकाशित: २५ असार २०७५, सोमबार