Technology Khabar १९ असार २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । संसारको सबैभन्दा धेरै प्रयोग हुने ईमेल सर्भिस हो जीमेल । अमेरिकन टेक कम्पनी गूगलको यो ईमेल सेवा अन्य भन्दा सुरक्षित र भरपर्दो मानिन्छ । तर अब भने त्यो भ्रम हटाउनुपर्ने भएको छ ।
हालैको एक रिपोर्टअनुसार तपाईँको ईमेल कुनैपनि सुरक्षित र गोप्य छैनन् । तपाईँको जीमेल इनबक्समा थर्डपार्टी एप्सले कुनैपनि बेला जानकारी हासिल गर्न सक्नेछ । र त्यस्तो एप्स गूगलले नभई अन्य डेभलपरले बनाएका हुन्छन् । यसको अर्थ तपाईँको जीमेलमा रहेको हरेक ईमेलको जानकारी अन्य तेस्रो व्यक्तिलाई हुने गरेको छ ।
हालै वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टअनुसार १०० भन्दा बढि एप्स डेभलपर्सहरुले सिधै तपाईँको गोप्य र संवेदनशिल ईमेलमा पहुँच पाएका छन् । यिनिहरुले तपाईँको हरेक व्यक्तिगत तथा अन्य किसिमका जानकारीहरु लिने गरेका छन् ।
रिपोर्टमा दुईवटा एप्सको बारेमा विस्तृतमा दाबी गर्दै उल्लेख गरिएको छ । ती दुई एपमध्ये एउटा रिटर्न पाथ नामक एप हो, जसले यूजरको इनबक्सलाई विश्लेषण गर्दछ र मार्केटरहरु अर्थात बजारको लागि यूजर डाटा संकलन गर्दछ । यो एपको लागि का मगर्ने कर्मचारीहरुले यूजर्सको व्यक्तिगत ईमेल पढ्छन र उनीहरुले दुई वर्षपहिले ८ हजार यूजर्सको ईमेल पढेका थिए । सफ्टवेयर डेभलप गर्नको लागि उनीहरुले सो ईमेल पढेको तर्क गरेका छन् ।
त्यस्तै अर्को एपको नाम हो एडिसन सफ्टवेयर, जसले ईमेल म्यानेज गर्नको लागि सहयोग गर्दछ । रिपोर्टकाअनुसार यो एपमा काम गर्ने कर्मचारीहरु हजारौं ईमेलहरु पढ्छन, जसले गर्दा स्मार्ट रिप्लाई फीचरलाई उत्कृष्ट बनाउनका लागि सकियोस् ।
यस रिपोर्टमा यी बाहेक पनि कसैले एप्स पढेका छन की छैनन भन्ने बारेमा समेत उल्लेख गरिएको छ । रिपोर्टमा थर्ड पार्टी डेभलपर्सका साथै उनीहरुका कर्मचारीले पनि तपाईँको व्यक्गिगत ईमेल पढ्न सक्ने उल्लेख छ । तर गूगल र यी एप्स इन्टल हुनुभन्दा पहिले तपाईँसँग अनुमति माग्ने गर्दछ र तपाईँले यसलाई अनुमति दिनुहुन्छ ।
गूगलको स्टेटमेन्टमा भनिएको छ, ‘जहाँ उनीहरुलाई कुनै एप डेभलपरको बारेमा केहि शंका वा उसको पोलिसीको बारेमा शंका हुन्छ, र उ स्पष्ट हुँदैन भने कम्पनीले डेभलपरमाथि कारबाहि गर्दछ ।’
हाल जीमेलका विश्वभर १.४ विलियन यूजर्स छन् । विश्वमा ईमेल प्रयोग गर्नेमध्ये दुई तिहाई व्यक्तिहरुले जीमेल एकाउन्ट खोलेका छन् ।
यसअघि सन् २०१४ मा गूगलले विद्यार्थी, व्यवसायी र सरकारी प्रयोगकर्ताहरुको जीमेल इनबक्स स्क्यान गर्न रोक्ने बताएको थियो भने गत वर्षको जूलाईमा विज्ञापनका लागि सबै जीमेल स्क्यानलाई रोकिएको बताएको थियो ।
गूगलले कति एप्सहरुसँग जीमेलको एक्सेस रहेको खुलासा गरेको छैन तर रिसर्च एप एन्नेकाअनुसार आईओएस र एन्ड्रोयडमा ३७९ एप्सहरुमध्ये अधिकांश जीमेलमा लिंक गर्न सक्दछन् ।
प्रकाशित: १९ असार २०७५, मंगलवार