टेलिकमले आफूलाई जोगाउन कठोर नीति लिन आवश्यक छ- सञ्चार मन्त्री

Technology Khabar १५ असार २०७५, शुक्रबार

टेलिकमले आफूलाई जोगाउन कठोर नीति लिन आवश्यक छ- सञ्चार मन्त्री
फाइल

इटहरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन्।

मन्त्री बाँस्कोटाले शुक्रबार इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गर्दै नेपालमा कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग आदिको दृष्टान्त प्रस्तुत गर्दै टेलिकमले पनि आफूलाई जोगाउनका लागि कठोर नीति लिएर काम गर्न जरुरी भएको बताए ।

‘सूचना मन्त्रालयबाटै देशभरका टेलिकमका कर्मचारीले इमान्दारीपूर्वक कर्तव्य पालना गरे वा नगरेको अनुगमनको प्रविधि अपनाएर हेरिने जानकारी दिँदै देश र जनताप्रति बेइमानी गर्ने संघ, संगठन वा युनियनमा आबद्ध कर्मचारीप्रति सरकार खरो उत्रनेछ,’ मन्त्री बाँस्कोटाले भने।

सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त बनाउँदै सेवाग्राहीप्रति उच्च र विश्वासनीय सेवा दिन टेलिकमले भरमग्दूर प्रयास गर्दै नीतिमा समेत परिमार्जन गर्ने प्रयास अघि बढाइरहेको जानकारी दिईन्।

सुनसरी र मोरङ जिल्लाका अधिकांश भागमा टेलिकमको सेवा हेर्दै आएको इटहरीका प्रमुख ज्ञानेश ढुंगानाले केही स्थानमा उच्च प्रविधिसहितको सेवा विस्तारको माग तीव्र गतिमा भइरहेकाले त्यसतर्फ काम भइरहेको र कम्पनीले प्राप्त गर्नुपर्ने उपलब्धि सन्तोषजक रुपले प्राप्त गरिरहेको मन्त्री बाँस्कोटालाई जानकारी गराएका थिए ।

मन्त्री बाँस्कोटाले रेडियो नेपालको धरान तीनकुनेको प्रसारण केन्द्र तथा जिल्ला हुलाक कार्यालय र टेलिकम कार्यालयको पनि स्थलगत अवलोकन एवं अनुगमन गरे।

TK Viber

प्रकाशित: १५ असार २०७५, शुक्रबार

Loading...