सञ्चार मन्त्री बाँस्कोटाले भने- इन्टरनेट सेवा शुल्क कम गर्छौं

Technology Khabar १२ असार २०७५, मंगलवार

सञ्चार मन्त्री बाँस्कोटाले भने- इन्टरनेट सेवा शुल्क कम गर्छौं
फाइल

काठमाडौं ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिलेको इन्टरनेटको शुल्क घटाउँदै लाने बताएका छन् ।

मन्त्री बाँस्कोटाले नेपालमा इन्टरनेट सेवा शुल्क अन्य मुलुकमा भन्दा सस्तो रहेको भन्दै मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका हुन्।

मंगलवार विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले हाल मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने उनले बताए।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई कर तिराउने सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘एनसेललाई नेपाल सरकारले कुनै पनि उन्मुक्ति दिएको छैन र दिँदैन्।’

नेपाल टेलिकमको विकास गर्न, यसको सेवा गुणस्तरीय बनाउन आगामी आवमा ७३८ नयाँ टावर थप्न लागिएको जानकारी दिँदै त्यसपछि टेलिकम सेवा नपुगेका स्थानमा पनि सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे।

‘दुई वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको सेवा पुग्छ, सार्वजनिक सूचना केन्द्र पनि पुग्नेछ,’ मन्त्री बाँस्कोटाले भने ।

वाइफाइ जोन सञ्चालनका लागि एप्स बनाइसकेकाले देशभर फ्रि वाइफाइको सुविधा उपलब्ध गराउने योजना समेत रहेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

उनले आगामी आवमा ५०० विद्यालयमा कम्प्युटर ल्याब बनाउने र प्रत्येक प्रदेशमा एक स्मार्ट विद्यालय बनाउने योजना सुनाउँदै दुई वर्षभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउने र त्यस कार्यका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।

easy care

प्रकाशित: १२ असार २०७५, मंगलवार