Technology Khabar ३ असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । प्रभु ग्रुपले टेलिभिजन सेवा कम्पनी प्रभु टिभी संचालनमा ल्याएको छ । कम्पनीले आईतवार एक कार्यक्रमका बीच डिजिटल टेरेस्टिरियल ब्रोडकास्टिंग (डीभीवी–टी२) Digital Terrestrial Broadcasting-T2 प्रविधिमा आधारित प्रभु टिभी शुरु गरेको हो ।
सार्क मुलुकमै पहिलो पटक डीभीवी–टी२ प्रविधिको टेलिभिजन संचालनमा ल्याइएको प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनले दाबी गरे।
‘प्रविधिमा फड्को मार्दै नेपालमै पहिलो पटक नयाँ प्रविधिको टेलिभिजन सेवा संचालनमा ल्याएका छौं,’ उनले भने ।
कम्पनीले यो प्रविधी शुरुमा काठमाडौं, चितवन र पोखरामा सञ्चालन गरिएको छ भने आगामी दिनमा बुटवल भैरहवा, नेपालगञ्ज, कोहलपुरलगायतका स्थानहरुमा समेत लैजाने तयारी गरेको छ।
‘प्रभु टिभी’ एपमार्फत ओभर दि टप (ओटीटी) प्रविधिमा आधारित भएर पनि हेर्न सकिने छ । एप डाउनलोड गरी मोबाईल वा ट्यावमार्फत सहजै टेलिभिजन हेर्न सकिने भट्टचनले बताए ।
कति छ शुल्क ?
प्रभु टिभी हेर्नका एकल प्रयोगकर्ताले ६ महिनाको १ हजार ६ सय रुपैयाँ सेवा शुल्क र १ हजार रुपैयाँ सेटअप बक्सको लागि तिर्नुपर्ने हुन्छ । यसैगरी संस्थागत प्रयोगकर्ताले मासिक २ सय रुपैयाँ र सेटअप बक्सको ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।
कति वटा च्यानल ?
हाल प्रभु टिभीले कुल ६० च्यानलहरु देखाउने छ जसमा २७ वटा एचडी च्यानल रहेको छ । दशैँ भित्रमा १ सयदेखि १ सय २० वटा च्यानल प्रदान गरिने समेत अध्यक्ष भट्टचनले जानकारी दिए । जसमा ५० वटा एचडी च्यानल हुने उनको दावी थियो ।
कसरी हेर्ने मोबाइल तथा ल्यापटप ?
इन्टरनेट नजोडेपनि डोंगोलमार्फत मोबाइल तथा ल्यापटपमा टिभी हेर्न सकिन्छ । जसका लागि कम्पनीले एउटा डोंगोल प्रदान गर्ने छ ।
सो सेवा भने केही समयपछि मात्र लञ्च गरिने कम्पनीले जनकारी दिएको छ ।
सो डंगोलको १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्ने र त्यसमार्फत टिभी हेर्नका लागि निश्चित शुल्क तोकिने समेत उनले जानकारी दिए।
प्रकाशित: ३ असार २०७५, आईतवार