४९ विद्यार्थीलाई क्यान महासंघको छात्रबृत्ति, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले पढाउने

Technology Khabar २१ जेष्ठ २०७५, सोमबार

४९ विद्यार्थीलाई क्यान महासंघको छात्रबृत्ति, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले पढाउने
NTC_Advt

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षा तर्फ पनि यस बर्ष देखि छात्रबृत्तिको शुरुवात गरेको छ । क्यान महासंघले सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्न लागेको हो ।

काठमाडौंको मैतीदेविमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रबृत्ति र बाँकी ४२ जनालाई आंसिक छात्रबृत्ति प्रदान गरीने जानकारी दिएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा छात्रवृत्ति प्रदान गर्ने विषयमा क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट अध्यक्ष पंकज जलानले सहमति पत्रमा हस्ताक्षर गरे ।

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत वि एस सी आईटी को अध्ययन गर्न पाउने बताईएको छ ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्न्छन् । छात्रबृतिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने छन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रबृति छनौट समिति गठन गर्ने छ । छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्ने जानकारी दिएको छ ।

यो वर्षको छात्रवृत्तिका लागि विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org बाट २०१८ जुलाई २५ तारिखभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा एउटा फोटो, नागरिकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्ने क्यान महासंघले जनाएको छ ।

प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार