एक सातामा मोबाइलको मूल्य बढ्ने, कम्पनीहरुद्धारा पुरानो मूल्यमा बिलिङ्ग रोक्का

Technology Khabar १८ जेष्ठ २०७५, शुक्रबार

एक सातामा मोबाइलको मूल्य बढ्ने, कम्पनीहरुद्धारा पुरानो मूल्यमा बिलिङ्ग रोक्का
फाइल

काठमाडौं ।

काठमाडौं । तपाईँ मोबाइल किन्ने सोचमा हुनहुन्छ भने यो नयाँ मोबाइल फोन किन्ने उपयुक्त समय हो । यदि तपाईँले करिब एक साताभित्र मोबाइल किन्न सक्नुभएन भने तपाईँले महंगो मूल्यमा नयाँ मोबाइल किन्नुपर्ने हुन्छ ।

हालै आर्थिक वर्ष २०७५/७६ को लागि सार्वजनिक भएको बजेटमा मोबाइल सेट आयातमा भएको कर वृद्धिका कारण केहि साताभित्र मोबाइलको मूल्य बढ्ने भएको हो । कम्पनीहरुले संभवत आगामी सातादेखि मोबाइल फोनको मूल्यमा वृद्धि गर्ने तयारी गरेका छन् ।

सरकारले बजेटमार्फत मोबाइल फोन आयातमा दिँदै आएको ४० प्रतिशत भ्याट फिर्ता खारेज गरेपछि र मोबाइल बिक्रीमा पनि अन्तशुल्क लगाएपछि मोबाइल मूल्य बढ्ने निश्चित भएको हो ।

सरकारले भ्याटको ४० प्रतिशत आयातकर्ता कम्पनीलाई दिँदै आएको थियो जून १३ प्रतिशत भ्याटको ५.२ प्रतिशत हो । यो रकम आयातकर्ता व्यवसायीले फिर्ता लिँदै आएका थिए भने, उनीहरुको भनाईमा सो रकम बराबर ग्राहकहरुलाई खरिद मूल्यमा घटाएर तोक्ने गरिन्थ्यो ।

त्यस्तै सरकारले अन्तशुल्क ५ प्रतिशत मोबाइलमा लगाउने नीति जारी गरेपनि करिब १० देखि १२ प्रतिशतसम्मको मूल्य वृद्धि हुने निश्चित भएको मोबाइल फोन ईम्पोर्टस एसोसिएसन(एमपीआईए) का महासचिव तथा लाइफ कम प्रालीका प्रबन्ध निर्देशक अमित अग्रवालले जानकारी दिए।

सरकारले दिने ४० प्रतिशत भ्याट फिर्ता खारेज गरेको छ भने थप ५ प्रतिशत एक्साइज ड्यूटी पनि थप गरेको छ, यसले केहि साताभित्र मोबाइल फोनको मूल्य त निश्चित बढ्छ, अग्रवालले मोबाइल्सखबरसँग भने ।

मोबाइल फोन आयातकर्ता तथा बितरक कम्पनीहरुले मोबाइल फोनमा राजस्व वृद्धि भएको र त्यसले खरिद बिक्री प्रकृयामा असर पारेको भन्दै हाल बिलिंग रोकेका छन् । सरकारले भ्याट फिर्ता खारेज गरेको बुझिएपनि थप एक्साइज ड्यूटी कसरी लाग्छ भन्ने बारेमा स्पष्ट नभएको व्यवसायीहरुले बताएका छन् ।

एपेक्स डिजिटल प्रालिका प्रबन्ध निर्देशक प्रज्ञात तिमल्सिनाले पनि सरकारले बजेटमार्फत लागू गरेको एक्साइज ड्यूटीको बारेमा सबै कम्पनीहरु स्पष्ट हुन नसक्दा बिलिङ्ग प्रकृया रोक्नुपरेको बताए ।

‘सरकारी स्पष्टता नहुँदा केहि दिनका लागि बिलिङ्ग रोकिएको हो, सरकारी अधिकारीहरुसँग यसबारे छलफल गरेर स्पष्ट भएपनि त्यसैअनुसार बिलिङ्ग हुन्छ, संभवत १/२ दिनमा सबै स्पष्ट जानकारी आउँछ,’ तिमल्सिनाले भने ।

उनले सरकारी राजस्व वृद्धिअनुसार मोबाइल फोन सेटहरुमा केहि दिनभित्रै मूल्य बढ्ने जानकारी समेत दिए ।

‘प्राइस बढ्छ, मेरो अनुमानमा कम्तिमा ११ प्रतिशतको मुल्यवृद्धि ग्राहकहरुले भोग्नुपर्ने हुन्छ, कम्पनीअनुसार मूल्यवृद्धि फरक पनि हुनसक्दछ,’ उनले भने ।

त्यस्तै एमपीआईएका महासचिव अग्रवालले पनि मूल्य बढ्ने निश्चित भएको र कम्पनीअनुसार त्यसमा ढिलो चाँडो निर्णयहरु आउने बताए ।

‘मूल्य त निश्चय नै बढ्छ, कुनै कम्पनीले बढेको रकम नाफाबाट काटेर केहि दिन रोकेपनि अन्तत मूल्य बढ्ने नै हो,’ उनले भने ।

उता न्यूरोडमा मोबाइल ब्राण्डको लागि डिलरको रुपमा कार्यरत एक कम्पनीका संचालकले समेत आगामी सातामा मूल्य बढेर बिल आउनसक्ने जानकारी दिए ।

‘राजस्व बढेको भनेर अहिले सबैे कम्पनीहरुले बिलिङ्ग रोकेका छन्, केहि दिनभित्रै मूल्य बढेर आउँछ होला,’ उनले भने ।

मोबाइल फोन आयातकर्ता कम्पनीहरुले नयाँ राजस्वको दरहरुको बारेमा सरकारीअधिकारीहरुसँग छलफल गरिरहेका छन भने उनीहरुले अवैधरुपमा आयात हुने मोबाइल फोनलाई प्रतिबन्ध लगाउनुपर्ने माग समेत गरेका छन्।

एमपीआईएका महासचिव अग्रवालले सरकारी अधिकारीहरुसँग आईएमईआई लक गर्ने प्रकृया तत्काल लागू गर्नुपर्ने माग गरेको जानकारी दिए ।

‘हामीले आजै पनि सरकारी अधिकारीहरुलाई भेट्यौं र ग्रे च्यानलबाट आउने फोनलाई प्रतिबन्ध लगाउन माग गर्यौैं, उहाँहरुले साउनदेखि आईएमईआई लक सिस्टम शुरु गर्ने आश्वासन दिनुभएकोछ, उनले भने ।

Global Bank
easy care

प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार