स्मार्ट कार्ड बनाउने प्रविधि नेपालमा, सहजरुपमा डिजिटल स्मार्ट कार्ड बनाउन सकिने

Technology Khabar ११ जेष्ठ २०७५, शुक्रबार

स्मार्ट कार्ड बनाउने प्रविधि नेपालमा, सहजरुपमा डिजिटल स्मार्ट कार्ड बनाउन सकिने
NTC_Advt

काठमाडौं । स्मार्ट लाइसेन्स, एटीएम, लगायतका डिजिटल स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि नेपालमा भित्रिएको छ । लाईसेन्स तथा विभिन्न किसिमका कार्डहरु नेपालमा तयारी हुन नसकिरहेको सन्दर्भमा मालिका इन्कर्पोरेटले नेपालमै यस्तो प्रविधि भित्र्याएको हो ।

यो प्रविधिका माध्यमबाट स्मार्ट लाइसेन्स बितरणमा अहिले भईरहेको ढिलासुस्तीको अन्त्य गर्न आफु तयार रहेको मालिका इन्कर्पोरेटले जनाएको छ ।

राजधानीमा एक कार्यक्रमका बिच नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले मालिका इन्कर्पोरेटको औपचारिक सुरुवात गर्दै डिजिटल समाज निर्माणमा यसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । स्वास्थ्य, यातायात, शिक्षा, बैंकिगं क्षेत्रमा मालिका इन्कर्पोरेटले भित्र्याएका अटोमेशन प्रविधिले आम नागरिकको दैनिकी सहज हुने विश्वास पनि उनले व्यक्त गरे ।

मालिका इन्कर्पोरेटले सूचना प्रविधिका क्षेत्रहरु, स्वास्थ्य, यातायात, बैंक, शिक्षाका साथै राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा प्रविधिको प्रयोग व्यापक बनाउने लक्ष्य लिएको छ । भारतमा आधार कार्ड, लाइसेन्स, एयरफोर्सको सेक्युरिटी लगायत क्षेत्रमा सेवा दिंदै आएकोे जेब्रा ब्राण्डलाई मालिकाले नेपाल प्रवेश गराउँदै यस्तो योजना बनाएको हो ।

यसका उत्पादन नेपाल सरकारका विभिन्न विभाग, तथा निकायहरुका साथै बैंक वित्तीय संस्था, अस्पताल, शैक्षिक प्रतिष्ठानबाट प्रवाह हुने सेवामा धेरै उपयोगी हुने मालिका इन्कर्पोरेटका अध्यक्ष टीकाराम जैशीको भनाई छ ।

स्मार्ट लाइसेन्स

कम्पनीले माइक्रोप्रोसेसर चीप जडित स्मार्ट कार्ड र कार्ड प्रिन्टर उपलब्ध गराउँछ । अमेरिकामा उत्पादित र भारतमा अधिक प्रयोगमा रहेको आधुनिक प्रविधियुक्त उपकरणको प्रयोगबाट अहिले स्मार्ट लाइसेन्स बितरणमा भईरहेको ढिलासुस्ती तत्काल हटाउन सक्ने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यसका लागि सरकारले सकरात्मक सोच लिएको खण्डमा आफुहरु तत्काल सेवा दिन तयार रहेको इन्कर्पोरेटका अध्यक्ष जैशीले बताए । अहिले स्मार्ट लाइसेन्स छपाई पुरानो प्रविधिमा भैरहेकाले प्रिन्टिग प्रकृया ढिलो भएको र आफुहरुले भित्र्याएको प्रविधिले हजारौं गुणा बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्ने उनले दाबी गरे ।

जैशीकाअनुसार यसमा रहेको विशेष प्रविधिको सहयोगमा ट्राफिक प्रहरीले लाइसेन्स रिडर प्रविधिमार्फत ठाउँको ठाउँ जरिवाना काट्न सक्नेछ ।

राष्ट्रिय परिचयपत्र

मालिका इन्कर्पोरेटले डिजिटल नेपाल बनाउने उद्धेश्यका साथ राष्ट्रिय परिचयपत्रलाई स्मार्ट डाटा प्रविधिको अवधारणामा काम गर्ने प्रविधि पनि ल्याएको छ । जसको सहयोगमा निर्वाचन आयोगले जारी गर्ने परिचयपत्र, स्थानीय निकायले जारी गर्ने परिचयपत्र पनि तयार गर्न सकिने इन्कर्पोरेटले जनाएको छ । ‘यसका लागि आवश्यक डाटा प्रसोधन प्रणाली तथा सफ्टवेयर पनि तयार छ ।’ इन्कर्पोरेटका युएस जेब्रा कम्पनीका नेपाल तथा भारत प्रतिनिधि अतुल मिश्रले भने ।

एटीएम

बैंक तथा वित्तीय संस्थाले जारी गर्ने एटीएम पनि इएमभि मापदण्डको पछिल्लो संस्करण अनुसार प्रिन्ट गर्ने प्रणाली बैंक तथा वित्तीय संस्थाहरुका लागि मालिकाले उपलब्ध गराउनेछ । जसको सहयोगमा बैंकहरुले एटीएम बितरण गर्न साता बढीसम्म समय लगाउँदै आएकोमा छिनभरमा एटीएम सेवाग्राहीलाई दिन सक्ने छन् । इन्स्ट्याण्ट कार्ड ब्राञ्च इसुएन्सको सहयोगमा डाटालाई केही बेरमा कार्डमा स्टोर गरी द्रूत सेवा दिन सक्ने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यसका साथै स्मार्ट हस्पिटल प्रोजेक्ट अन्तरगत अस्पतालमा कागजको प्रयोगलाई निरुत्साहित गर्ने प्रविधि ल्याएको मालिकाले बिरामीका साथै अस्पताल प्रशासनलाई चुस्त सेवामा अभ्यस्त बताउन सक्ने छ । यो प्रविधि इन्टरनेशनल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त भएकाले नेपालको अस्पतालमा यसको प्रयोग सहज हुने बताइएको छ ।

त्यसै गरी विद्यालय तथा कलेजहरुमा विद्यार्थी, कर्मचारी लगायतलाई आधुनिक प्रविधियुक्त कार्ड आफ्नै परिसरमा तयार गराउन सक्ने सेवा दिइने इन्कर्पोरेटले बताएको छ । यसबाट विद्यर्थी, अभिभावक, शिक्षक तथा कर्मचारी लाभान्वित हुने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित: ११ जेष्ठ २०७५, शुक्रबार