वैदेशिक लगानी सफ्टवेयर विकासमा आकर्षित, सूचना प्रविधि क्षेत्रमा अधिकांश चिनियाँ लगानी

Technology Khabar १० जेष्ठ २०७५, बिहीबार

वैदेशिक लगानी सफ्टवेयर विकासमा आकर्षित, सूचना प्रविधि क्षेत्रमा अधिकांश चिनियाँ लगानी
Classic Tech

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालमा वैदेशिक लगानी भित्र्ने क्रम बढिरहेको छ । विशेषगरि ठूला लगानीका क्षेत्रहरुमा वैदेशिक लगानी भित्र्ने गरेको छ । नेपालमा आउने वैदेशिक लगानीको तथ्यांक हेर्दा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुको सूची पनि उल्लेख्य नै रहेको देखिन्छ ।

उद्योग विभागको तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा नेपालमा उद्योगको रुपमा परिभाषित भएर सूचना प्रविधिको क्षेत्रमा लगानी गर्नेहरुको संख्या ३१ पुगेको छ ।

उद्योग विभागमा दर्ता भएर लगानीगर्नेहरुमध्ये अधिकांश वैदेशिक लगानीमा रहेका कम्पनीहरु छन् । तथ्यांकअनुसार ३१ वटा कम्पनीहरु मध्ये २५ वटा कम्पनीहरुमा वैदेशिक लगानी रहेको छ ।

वैदेशिक लगानी भएका कम्पनीहरुमध्ये पनि अधिकांशमा शतप्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

वैदेशिक लगानी भित्र्याउने कम्पनीहरुमध्ये अधिकांशले नेपालमा नै सफ्टवेयरको विकास गर्ने उदेश्य राखेको विभागका प्रवक्ता तथा निर्देशक दुर्गा भुषालले जानकारी दिए ।

‘हामीकहाँ पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्रमा आउने कम्पनीहरु धेरैजसोले सफ्टवेयर बनाउने उद्धेश्यका साथ आउँछन्,’ विभागका प्रवक्ता भूषालले मोबाइल्सखबरसँग भने।

त्यसपछि भने वेवसाइट विकास गर्ने र सूचना प्रविधिको तालिम दिने उद्धेश्यले पनि उद्योग दर्ता हुने गरेको उनको भनाई छ ।

दर्ता भएका ३१ कम्पनीहरुमध्ये २३ वटाले सफ्टवेयरको विकास गर्नेसहित अन्य उद्धेश्य राखेर उद्योग विभागमा दर्ता गरेका छन्। अन्य कम्पनीहरुले एनिमेशन, आउटसोर्टिंग, डाटा प्रोसेसिंग, अनलाइन भिडियो डिमाण्डलगायतका उद्धेश्यहरु खुलाएका देखिन्छ।

विभागको तथ्यांकअनुसार शत प्रतिशत वैदेशिक लगानी भित्र्याउने कम्पनीमा चिनियाँ लगानी ल्याउने क्वीयनछुन सफ्टवेयर प्रालि, डी.एस.डब्लू टेक्नोलोजी प्रालि, योण्डर म्युजिक नेपाल प्रालि, वेलहेम्स आईटी प्रालि, अप्स इम्प्रुभमेन्ट सफ्टवेयर प्रालि, क्याटम्यानडिउ एनिमेशन ल्याब्स प्रालि, भोटो मोबाइल प्रालि, लिलिङ्ग सफ्टवेयर कम्पनी प्रालि, यति ट्रेनिङ इन्टिच्यूट प्रालि, काइनेटिक सफ्वेयर डेभलपमेन्ट सर्भिसेज प्रालि, क्रियटिभ एप्स प्रालि, माग्दाजंग फोटोग्राफी प्रालि, एक्सपेर्ट प्रोजेक्ट प्रालि, चुवानयुन सफ्टवेयर कम्पनी प्रालि,उबर नेपाल प्रालि, लुमिनस सफ्टवेयर डेभलपमेन्ट प्रालि, विङ्गशु सफ्टवेयर कम्पनी प्रालि, रकीमोबि नेपाल प्रालि, टेक्नो डेभलपमेन्ट प्रालि, स्प्राउट टेक्नोलोजी सर्भिस प्रालि, आइफ्लिक्स नेपाल प्रालि, जेड.एन.जे.एम टेक्नोलोजी प्रालि रहेका छन् ।

त्यस्तै स्थानीय लगानीकर्तासँगको सहकार्यमा लगानी गरेका विदेशी कम्पनीहरु पनि रहेका छन् । यस्ता कम्पनीहरुमध्ये फ्लेक्सर्टक्स नेपाल प्रालिले ७० प्रतिशत वैदेशिक लगानी भित्र्याएको छ भने न्यू आई.टि.भेन्चर कर्पोरेशन लिमिटेडले ७०.४ प्रतिशत वैदेशिक लगानी ल्याएको छ । सिमित शेयरको रुपमा वैदेशिक लगानी ल्याउने अर्को कम्पनीमा इन्सेसेन्ट रेन एनिमेशन स्टुडियो रहेको छ जसले ५७.५ प्रतिशत विदेशी लगानी ल्याएको छ ।

तथ्यांक हेर्दा संख्यात्मक रुपमा सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी नेपालमा आउने मुलुकहरुमध्ये पहिलो स्थानमा चीन रहेको देखिन्छ । चीनबाट करिब ११ वटा कम्पनीमा वैदेशिक लगानी आएको छ भने त्यसपछि अमेरिका रहेको छ । त्यस्तै जापान, सिंगापुर, रसिया, जर्मनी, नेदरल्याण्ड, पोल्याण्ड, क्यानाडा लगायतका मुलुकबाट पनि नेपालमा सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी आएको छ ।

प्रकाशित: १० जेष्ठ २०७५, बिहीबार

Comments are closed.

Loading...