Technology Khabar ३ जेष्ठ २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको जिवनलाई सहज बनाउनुपर्ने मुल उद्धेश्यका साथ विश्व टेलिकम्यूनिकेसन एण्ड इन्फर्मेशन सोसाइटि डे २०१८ नेपालमा एक कार्यक्रमका बीच मनाईएको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित सो कार्यक्रममा संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आर्टिफिसियल इन्टेलिजेन्सले मानव जिवनलाई सहज बनाउन सक्नुपर्ने बताए । उनले आर्टिफिशियल इन्टेलिजेन्सले समाजको गतिबिधिहरुलाई सहज बनाउन सक्नुपर्ने बताए ।
‘यसले समाजको जिवन्तता मार्नु नहुने तर समाजको गतिबिधिहरुलाई सहज बनाउन सक्नुपर्छ, यो हाम्रो आवश्यकता र चाहनाअनुसार प्रयोग गरिनुपर्दछ,’ संचार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटाले भने ।
उनले प्रविधि अन्य मुलुकबाट नेपालमा प्रयोगमा ल्याउनु नक्कल गर्नु भएपनि नेपालमा त्यो प्रयोग गर्नु निकै कठिन भएको बताए ।
‘एउटा टेण्डर गर्न ४५ दिन लाग्दछ र कुनै काम गर्नुपर्यो भने शुरु नै नभई काम गर्न नदिनेहरु धेरै हुन्छन्,’ उनले भने ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गले सूचना संचारको क्षेत्रमा निकै कामहरु गरिरहेको भन्दै मन्त्रालयले सूचना प्रविधि ऐन, साइबर सुरक्षा ऐनलगायतका कार्यहरु गरिरहेको बताए ।
‘हामी आगामी वजेटमा साना तथा मझौला आईसिटी कम्पनीहरुलाई के सहुलियत दिनसक्छौं भनेर काम गरिरहेका छौं,’ सचिव गुरुङ्गले भने ।
कार्यक्रममा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग र यसले नेपालमामा खेल्नसक्ने भूमिका विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
विश्वभर सन् १९७० देखि यो दिवन मई १७ तारिखमा मनाउन थालिएको हो । अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियनका सदस्यराष्ट्रहरु नेपालसहित विश्वका १९३ मुलुकहरुमा यो दिवस मनाउने गरिन्छ ।
यो वर्ष यो दिवसको लागि मुल नारा ‘इनेब्लिंग दि पोजेटिभ यूज अफ आर्टिफिशियल इन्टेलिजेन्स फर अल’/Enabling the positive use of Artificial Intelligence for All भन्ने रहेको छ ।
प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार