Technology Khabar १९ बैशाख २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । बजारमा नयाँ स्मार्टफोन मात्र होइन की पुराना स्मार्टफोनहरुको खरिद बिक्री पनि निकै हुने गरेको छ । अधिकांश समय स्मार्टफोनको मुल्य निकै धेरै हुने हुँदा हामी आफुले मन पराएको नयाँ स्मार्टफोन खरिद गर्न सक्दैनौं ।
यस्तो बेलामा पुराना अर्थात सेकेण्डह्याण्ड स्मार्टफोनहरु विकल्पको रुपमा आउने गर्दछ। स्थानीय बजारमा पनि सेकेण्डह्याण्ड स्मार्टफोनको कारोबार निकै ठूलो मात्रामा हुने गरेको छ । अधिकांश मानिसहरु सेकेण्डह्याण्ड फोन खरिद बिक्रीका लागि मोबाइल पसल जाने गर्दछन् ।
तपाईँले कयौं पटक आकर्षक र राम्रो स्मार्टफोन भनेर किनेको सेकेण्डह्याण्ड फोन कहिले बिग्रिएको हुने गर्दछ जसले तपाईँलाई निकै चिन्तित बनाउँछ ।
आफुले भने अनुसारको सुविधा र गुणस्तर नहुँदा सेकेण्डह्याण्ड फोनहरुमा समस्या आउन सक्दछ । त्यसैले सेकेण्ड ह्याण्ड फोन किन्नु भन्दा पहिले केहि कुराहरुमा ध्यान दिनुभयो भने त्यस्तो समस्याहरुबाट मुक्ति मिल्दछ ।
हामी यहाँ तपाईँलाई सेकेण्ड ह्याण्ड स्मार्टफोन खरिद गर्नुभन्दा पहिले ध्यान दिनुपर्ने विषयहरु बारे जानकारी दिँदैछौं ।
१. यदि तपाईँ सेकेण्डह्याण्ड फोन खरिद गर्न लाग्नुभएको छ भने त्यो फोन कति पुरानो हो त्यस बारेमा सोध्नुहोस् । हरेक वर्ष नयाँ फोनहरु बजारमा आउने हुँदा सकेसम्म १ वर्षभन्दा पुरानो मोडलको फोन किन्दा समस्याहरु आउन सक्दछन् । अधिकांश पुराना भएका फोनहरु तपाईँले चाहेको फीचर र गुणस्तर भन्दा कमसल हुनसक्दछन जसले गर्दा फोन ह्यांग हुने समस्या आउनसक्दछ ।
२. सेकेण्डह्याण्ड फोन किन्नुभन्दा पहिले त्यसलाई तपाईँ आफैंले वा कुनै जानकार व्यक्तिलाई देखाएर मात्र किन्नु होस् । यस्तो बेलामा फिजिकली सहि छ भनेर चेक गर्नुहोस् । विशेषगरि फोनको बडि र स्क्रीनको अवस्था र स्क्रयाचहरु छ वा छैन हेर्नुहोस् ।
३ सेकेण्ड ह्याण्ड फोनसँग के के एसेसरिज आउँछ र त्यो कस्तो अवस्थामा छ भनेर जाँच गर्नुहोस् । फोनका साथमा आउने चार्जिंग केवल, ईयरफोन, एडप्टर लगायतका सामाग्रीहरु सक्कली हुन वा पछि राखिएको सस्ता गुणस्तर नभएका एसेसरिज हुन हेर्नुहोस् ।
४. यदि तपाईँलाई फोन किन्ने बेलामा त्यो फोनको मुल्य महंगो भएको आशंका लाग्दछ भने त्यसको बारेमा पहिले नै अनलाईनमार्फत जानकारी लिनुहोस् । अनलाइनमा पनि सेकेण्डह्याण्ड फोनहरु बिक्री हुने र त्यसको बारेमा मुल्य राखिएको हुन्छ । त्यस्तै गरि यो फोन ब्राण्ड न्यू किन्दा कति मुल्य पर्दछ भन्ने पनि थाहा पाउनु राम्रो हुन्छ ।
५. यदि तपाईँले सेकेण्डह्याण्ड फोन अनलाइनमार्फत किन्न लाग्नुभएको छ भने रिटर्न पोलिसी अर्थात फिर्ता गर्न मिल्ने सुविधा वा नियमको बारेमा स्पष्टरुपमा जानकारी लिनुहोस् । यस्तो सुविधाले तपाईँले किनेको फोन मन नपरेको भए तत्काल फिर्ता गर्न सकिन्छ ।
६. सेकेण्ड ह्याण्ड फोन किन्दा तपाईँलाई आवश्यक पर्ने स्पेशिफिकेसन र फीचरहरु फोनमा छ वा छैन भन्ने थाहा पाउनुहोस् । फोनको डिस्प्ले साइज, र्याम, स्टोरेज, क्यामरा, प्रोसेसरलगायतका बारेमा सोध्नुहोस् ।
७. सेकेण्ड ह्याण्ड फोन खरिद गर्दा सकेसम्म विश्वासयोग्य र नियमित फोन किन्ने पसलहरुबाट मात्र किन्नुहोस् । तपाईँले फोन किनेपछि पसलेले बिल दिन्छ वा दिँदैन र त्यो बिल भ्याट वा प्यान बिल हो होईन स्पष्ट हुनुहोस् ।
८. सेकेण्ड ह्याण्ड फोन किन्दा सबैभन्दा ध्यान दिनुपर्ने र सचेत हुनुपर्ने विषय भनेको तपाईँले किन्ने फोन चोरीको फोन त होइन् । किन्न लाग्नु भएको फोन चोरी गरेर पसलमा बेच्न वा अनलाइनमा राखिएका हुन वा होईनन भन्ने सुनिश्चित गर्नुहोस् । यस्तो बेलामा तपाईँले चोरीको फोन किन्दा कानूनी झमेलामा पर्न सक्नुहुन्छ । त्यसैले फोन किन्दा बेच्ने पसलको नाम र सक्कली बिल माग्नुहोस् । पसलेले त्यसमा आनाकानी गर्दछ भने त्यस्तो फोन नकिन्नुहोस् ।
यदि तपाईँले उल्लेख गरिएका सामान्य विषयहरुमा मात्रै ध्यान दिनुभयो भने पनि तपाईँले किनेको सेकेण्ड ह्याण्ड स्मार्टफोन चाहे जस्तो खरिद गर्न सकिन्छ । त्यसैले सेकेण्ड ह्याण्ड फोन किन्दा आरामपूर्वक नहतारिएर किन्नुहोस् ।
प्रकाशित: १९ बैशाख २०७५, बुधबार