घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्डः पूर्व प्रधानमन्त्री प्रचण्ड

Technology Khabar १४ बैशाख २०७५, शुक्रबार

घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्डः पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लघु घरेलु तथा साना उद्योग मुलुककै औद्योगिक विकासको जग र आधार भएको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ को उदघाटन गर्दै उनले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको भन्दै यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्नुपर्नेमा जोड दिए ।

मुलुक राजनीतिक रुपमा स्थिरतातर्फ उन्मुख भएको र आर्थिक समृद्घिको चरणमा प्रवेश गर्न लागेको बेला नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव कोशेढंगा भएको बताए ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषिजन्य उद्योग, घरेलु तथा साना उद्योगको संरक्षण बिना असम्भव भएको भन्दै उनले आफू सधै उद्योग व्यवसाय क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर यस्ता उद्योगीसँगको सहकार्यबाट अगाडि बढ्ने गरेको बताए ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म पाँच दिन चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको जानकारी दिए ।

लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो ।

प्रदर्शनीकै बीच वैशाख १५ गते नेपाल चाइना कार्यकारी परिषदको सहकार्यमा नेपालमा चाइनिज लगानी प्रवर्धन गर्न चाइनिज लगानीकर्ता सम्मिलित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को सन्दर्भ पारेर बीटुबी कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।

त्यसैगरी, सार्क मूलुकका लघु घरेलु तथा साना उद्योगहरुको पारिस्परीक हित प्रवद्र्धन गर्न र सार्क स्तरिय नेटवर्क बिस्तार गर्ने उद्देश्यले सन् २००५ मा नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका छाता संस्थाहरुको सम्मेलनबाट स्थापना गरिएको साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको तेस्रो सम्मेलन वैशाख १६ गते आयोजना हुने महासंघले जनाएको छ ।

सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, अफ्गानिस्तान, पाकिस्तान, मालदिभ्स र बंगलादेश समेतका साना तथा मझौला उद्योगका छाता संस्थाका प्रतिनिधिहरु तथा छिमेकी राष्ट्र चीन पर्यवेक्षकको रुपमा सहभागिता रहने बताइएको छ ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । २५० वटा स्टलको व्यवस्था हुने र पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको छ ।

easy care

प्रकाशित: १४ बैशाख २०७५, शुक्रबार