ब्रोडब्याण्ड सेवा लिने नेपालीहरुको संख्या साढे ५७ लाख, थ्रीजी प्रयोगकर्ता सबैभन्दा धेरै

Technology Khabar ४ बैशाख २०७५, मंगलवार

ब्रोडब्याण्ड सेवा लिने नेपालीहरुको संख्या साढे ५७ लाख, थ्रीजी प्रयोगकर्ता सबैभन्दा धेरै

काठमाडौं ।

अनुज राज । काठमाडौं । नेपालमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताहरुको संख्या कुल जनसंख्याको २७ प्रतिशत रहेको छ । नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा २७ दशमलब १७ प्रतिशत सेवाग्राहीहरुले विभिन्न माध्यमबाट ब्रोडब्याण्ड सेवा प्रयोग गरिरहेका छन् ।

प्राधिकरणले नेपालको कुलजनसंख्याको आधारमा नेपालमा २७ प्रतिशत नेपालीहरुले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

प्राधिकरणले फिक्स्ड ब्रोडब्याण्ड तारसहित, फिक्स्ड ब्रोडब्याण्ड वायरलेस(ताररहित) र मोबाइल ब्रोडब्याण्डको छुट्टाछुट्टै तथ्यांक निकालेको छ । यस्तो सेवा प्रयोगकर्ताहरुमध्ये मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताहरु १७ दशमलब १७ प्रतिशत छन भने फिक्स्ड ब्रोडब्याण्ड तारसहितको प्रयोगकर्ताहरु ८ दशमलब ३३ प्रतिशत तथा फिक्स्ड ब्रोडब्याण्ड वायरलेस(ताररहित) प्रयोगकर्ताहरु १.१३ प्रतिशत रहेका छन् ।

थ्रीजी प्रयोगकर्ता

सो तथ्यांकअनुसार कुल ५७ लाख ५५ हजार ३ सय ६४ नेपालीले ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गरिरहेका छन् । जसमध्ये सबैभन्दा धेरै मोबाइलमार्फत थ्रीजी प्रयोग गर्नेहरु छन, जसको संख्या ३६ लाख ८१ हजार १ सय ९० जना रहेको छ । थ्रीजी प्रयोगकर्ताहरुमा नेपाल टेलिकमको ग्राहकहरु सबैभन्दा धेरै छन् ।

त्यसपछि भने इन्टरनेट सेवा प्रदायकहरुमार्फत केबल वा फाइबर टू दि होम सेवा प्रयोगकर्ताहरुको संख्या अधिक रहेको छ, यस्तो सेवा प्रयोग गर्नेहरु कुल ३० लाख २ हजार ३ सय २५ जना रहेका छन् ।

फोरजी सेवा

ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको आधारमा हेर्दा फोरजी सेवा प्रयोगकर्ताहरु तेस्रो स्थानमा रहेका छन् फोरजी प्रयोगकर्ताहरु कुल १३ लाख ६ हजार २ सय ५ जना छन जसमध्ये एनसेलको फोरजी चलाउने ७ लाख ७० हजार ९२ जना छन भने नेपाल टेलिकमको फोरजी चलाउने ५ लाख ३६ हजार १ सय १३ जना रहेका छन् ।

ईभिडियो

मोबाइल ब्रोडब्याण्ड अन्तरगत ईभिडियो सेवा प्रयोगकर्ताहरु १ लाख ९९ हजार ७ सय ७६ जना रहेका छन, जसमध्ये नेपाल टेलिकमका १ लाख ३६ हजार ५ सय ७३ जना छन भने यूनाइटेड टेलिकम(युटिएल) का प्रयोगकर्ताहरु ६३ हजार २ सय ३ जना रहेका छन् ।

एडिएसएल

प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा एडिएसएलमार्फत ब्रोडब्याण्ड सेवा प्रयोग गर्नेहरुको संख्या १ लाख ९७ हजार ३ सय ९१ रहेको छ । नेपालमा एडिएसएल सेवा नेपाल टेलिकमले मात्र प्रदान गर्दै आएको छ । नेपाल टेलिकमकै केबलमार्फत फिक्स्ड ब्रोडब्याण्ड सेवा लिनेहरुको संख्या भने निकै न्यून छ । नेपाल टेलिकमको केबल/फाइबर टू दि होम सेवा लिनेहरु ५१५ जना मात्र छन् ।

फिक्स्ड ब्रोडब्याण्ड वायरलेसमा रेडियो वाईफाई सेवा प्रयोगकर्ताहरुको संख्या ५० हजार ८ सय ८७ रहेको छ जून आईएसपीहरुले प्रदान गर्दै आएका छन् । यस्तो सेवामा वाइम्याक्समार्फत ब्रोडब्याण्ड सेवा लिनेहरु १७ हजार ७५ जना छन जसलाई नेपाल टेलिकमले सेवा दिँदै आएको छ ।

ब्रोडब्याण्ड सेवाको तथ्यांकअनुसार सबैभन्दा धेरै सेवा प्रयोगकर्ताहरु नेपाल टेलिकमको रहेका छ भने त्यसपछि एनसेलको ग्राहकसंख्या धेरै देखिन्छ । तेस्रो स्थानमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको ग्राहक छन भने चौथो स्थानमा यूटिएलका ग्राहकहरु छन् । नेपाल टेलिकमले सबै किसिमको ब्रोडब्याण्ड सेवा कुल ४५ लाख ६८ हजार ८ सय ५७ जना ग्राहकहरुलाई सेवा दिँदै आएको छ भने एनसेलले ७ लाख ७० हजार ९२ जनालाई सेवा दिएको छ । त्यस्तै आईएसपीहरुले ३ लाख ५३ हजार २ सय १२ जनालाई सेवा दिएका छन भने यूटिएलले ६३ हजार २ सय ३ जनालाई सेवा दिएको देखिन्छ ।

मोबाइल सेवा

दूरसंचार प्राधिकरणको माघ महिनाको तथ्यांकअनुसार कुल १ सय ३० दशमलब ६४प्रतिशत मोबाइल सेवा प्रयोगकर्ताहरु रहेका छन जसले भ्वाइस टेलिफोनि सेवा प्रयोग गर्दछन् । यो प्रतिशत अघिल्लो महिनाको तुलनामा करिब १२ प्रतिशतले कम हो । यस्तो प्रतिशत कम हुनुमा अघिल्लो महिना लिमिटेड मोबिलिटी सर्भिस प्रयोगकर्ताहरुको समेत संख्या जोडिएकोमा यो महिनादेखि सो सेवा प्रयोगकर्ताहरुको संख्या तथ्यांकमा समावेश गरिएको छैन् ।

भ्वाइस सेवा लिनेमध्ये मोबाइल सेवाग्राही १ सय २७ दशमलब ७ प्रतिशत रहेका छन भने फिस्क्ड लाइनमार्फत भ्वाइस सेवा दिनेहरु केबल २.९४ प्रतिशत मात्र रहेका छन् । मोबाइल प्रयोगकर्ताहरुको संख्या माघ महिनाको तथ्यांकमा करिब ९ प्रतिशतले घटेको छ अघिल्लो पुस महिनामा मोबाइल सेवाग्राहीहरु १३६ दशमलब ३४ प्रतिशत थिए । त्यस्तै फिस्क्ड लाइन सेवा प्रयोगकर्ताहरु समेत पुस महिनाको तुलनामा करिब शून्य दशमलब ३१ प्रतिशतले कमी भएको छ ।

नयाँ सूचकांक

प्राधिकरणले माघ महिनाको तथ्यांक सार्वजनिक गर्दै नयाँ सूचकांकहरु लागू गरेको जानकारी दिएको छ । जसमध्ये यो पटकदेखि ब्रोडब्याण्ड सेवाग्राहीहरुको तथ्यांक निकालिएको छ यसअघि भने समग्रमा इन्टरनेट सेवाग्राहीहरुको संख्या सार्वजनिक गर्ने गरिन्थ्यो । यो पटकदेखि जीपीआरएस अर्थात टूजीमार्फत इन्टरनेट सेवा प्रयोग गर्नेहरुको संख्या तथ्यांकबाट हटाईएको छ ।

त्यस्तै भ्वाइस सेवाग्राहीहरुमध्ये सिजी कम्यूनिकेसनको सबै तथ्यांकलाई हटाईएको छ । यसका साथै लिमिटेड मोबिलिटी सर्भिस प्रयोगकर्ताहरुमध्ये यूटिएलको सेवाग्राहीहरुको संख्यालाई मोबाइलको सिडिएमए खण्डमा समावेश गरिएको छ भने नेपाल सेटेलाइटको लिमिटेड मोबिलिटी सर्भिस प्रयोगकर्ताहरुलाई मोबाइल जीएसएमको तथ्यांकमा राखिएको छ ।

तथ्यांकमा यो पटकदेखि भिस्याटका प्रयोगकर्ताहरुको छुट्टै बिवरण राखिएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ बैशाख २०७५, मंगलवार