प्रहरीको दूर्गम स्थानका कार्यालयहरुमा भीस्याट संचार प्रबिधि

Technology Khabar २७ चैत्र २०७४, मंगलवार

प्रहरीको दूर्गम स्थानका कार्यालयहरुमा भीस्याट संचार प्रबिधि

काठमाडौं ।

काठमाडौं । नेपाल प्रहरी र नेपाल दूरसंचार प्राधिकरणको संयुक्त प्रयासमा स्याटेलाईट नेटवर्क माध्यमबाट संचालन भएको भीस्याट VSAT संचार नेटवर्क सोमबारदेखि संचालनमा आएको छ ।

भीस्याट संचार प्रबिधिको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी चौकी फोक्सिङटार काभ्रेमा स्थापना गरिएको सोही नेटर्वकमा भ्वाईस र डाटा माध्यमबाट संचार आदान–प्रदान गरे।

सोही क्रममा शान्ति सुरक्षा, अपराध गतिविधि तथा जनशक्ति सम्बन्धी जानकारी हासिल गर्दै उनले महिला तथा बालबालिका सम्बन्धी हुने अपराधहरुमा सम्वेदनशिल भई उपलव्ध जनशिक्तलाई उच्चतम प्रयोग गर्दै कार्य गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा संचार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा।राजिब सुब्बाले उक्त संचार नेटर्वक सम्बन्धी जानकारी दिँदै सूचना तथा संचार प्रवाहलाई अझै परिस्कृत र भरपर्दो बनाउन नेपाल प्रहरीमा सो संचार नेटर्वकको थालनी गरिएको बताए । योजनाको प्रथम चरणमा कुनै पनि संचार सम्पर्क नहुने अत्यन्त दुर्गम ७ प्रहरी ईकाईहरुमा उक्त प्रविधिको स्थापना गरिएको र भविष्यमा थप नेटवर्क स्थापना गरी यसलाई अन्य ईकाईहरुमा समेत विस्तार गरिदै लगिने उनले बताए ।

नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल र मर्केनटाईल कम्युनिकेशन प्रा।लि।का ज्ञानेन्द्र मिश्राले उक्त संचार नेटवर्क सम्बन्धी ज्ञानको लागि नेपाल प्रहरीलाई सदैव सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कुल २४ लाख ५६ हजार ९ सय २ रुपैयाँ लागतमा स्थापना गरिएको उक्त संचार नेटवर्क प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सिमा प्रहरी चौकी ओलाङचुङगोला ताप्लेजुङ, प्रहरी चौकी फोक्सिङटार काभ्रे, सिमा प्रहरी चौकी लोमाङथान मुस्ताङ, ईलाका प्रहरी कार्यालय रन्मामैकोट रुकुम, प्रहरी चौकी राराली जुम्ला, प्रहरी चौकी सहरतारा डोल्पा र सिमा प्रहरी चौकी धुली बझाङ गरी ८ स्थानमा स्थापना गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: २७ चैत्र २०७४, मंगलवार