गोरखाको गमलाडाँडा र ल्हो गाउँमा टेलिकमको मोबाइल सेवा सञ्चालन

Technology Khabar १४ चैत्र २०७४, बुधबार

गोरखाको गमलाडाँडा र ल्हो गाउँमा टेलिकमको मोबाइल सेवा सञ्चालन

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो ।

गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यस्तैगरी ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लि लगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित भएका छन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने भएका छन् ।

गोर्खा जिल्लाको विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पु¥याइएको छ । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

ल्हो गाउँ हालसम्म एक प्रकारले दूरसञ्चार सेवाको पहुँचबाट बञ्चित जस्तै थियो । अति दुर्गम क्षेत्र हुनुको साथै वस्तिहरु टाढा–टाढा भएकोले टेलिफोन गर्न अर्काे गाउँसम्म पुग्नुपर्दा स्थानीय वासिन्दालाई निकै कठिनाइ भइरहेको थियो ।

नेपाल टेलिकमले दुर्गम क्षेत्रको ल्हो गाउँका ग्राहकका लागि ५ सय वटा सिम र गमलाडाँडाका ग्राहकका लागि ३ सय ५० वटा सिम गाउँमै लगेर निःशुल्क वितरण गर्ने कार्य पनि सम्पन्न गरेको छ ।

गमलाडाँडा सदरमुकाम गोरखा बजारबाट करिब ३० कोष र ल्हो ५५ कोषको दुरीमा पर्छ । गोरखाको आरुघाट हुँदै सोतीसम्म गाडीमा गएर त्यसपछि करिब तीन दिन पैदल हिडेपछि गमलाडाँडा र त्यसपछि अर्को दुई दिनको पदयात्रा पछि ल्हो गाउँमा पुग्न सकिन्छ ।

easy care

प्रकाशित: १४ चैत्र २०७४, बुधबार