नेपाल र चीनबीच इन्टरनेट संजाल व्यावसायिकरुपमा सञ्चालन

Technology Khabar २८ पुष २०७४, शुक्रबार

नेपाल र चीनबीच इन्टरनेट संजाल व्यावसायिकरुपमा सञ्चालन

काठमाडौं ।

काठमाडौं, २९ पुस । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक आजदेखि व्यावसायिक सञ्चालनमा आएको छ । नेपालको सूचना महामार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको छ ।

एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले क्रसबोर्डर अप्टिकल फाइबर लिंक शुरु गरे ।

सो अवसरमा माननीय मन्त्री बस्नेतले देशव्यापी रुपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा भएको बताए ।

मन्त्री बस्नेतले लिंक निर्माण गर्ने दुई देशको निकै लामो समय पहिलेको योजना भए पनि भूकम्प र अन्य विभिन्न प्राकृतिक प्रकोपका कारण ढिलाई भएको स्मरण गर्दै मूख्य प्राथमिकतामा रहेको काठमाडौं–केरुङ रुट सञ्चालनमा ल्याउन सफल भएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताईन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले वायरलेस तर्फ फोरजी तथा वायरलाइन तर्फ फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आवद्धताले अहम् भूमिका निर्वाह गर्ने बताईन् ।

चाइना टेलिकम ग्लोबलका मूख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिका सम्म जोड्ने बताए।

यसअघि सन् २००३ मा नै अरनिको राजमार्ग अन्तर्गत काठमाडौंदेखि खासा झाङमुसम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको थियो । सोहि अप्टिकल फाइबरलाई प्रयोग गर्र्ने गरि झाङमु र तातोपानीबीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

तातोपानी हुँदै नेपाल र चीन बीच इन्टरनेट जोडिने तयारीका बीच नेपालका गएको भूकम्पका कारण सो रुट पूर्णरुपमा क्षतिग्रस्त भएपछि नयाँ वैकल्पिकरुटको रुपमा रसुवागढी हुँदै इन्टरनेट जोडिएको हो ।

गत भदौमा नै सो इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी टेलिकमले गरेको थियो ।

चीनसँग जोडिएको इन्टरनेट संजाल टेलिकमका लागि न्यून लागतको भएको र अल्टरनेटिभ रुटको रुपमा प्रयोग गर्न सकिने जानकारी दिईयो ।

हाल टेलिकमले भारतीय कम्पनीहरुबाट २५ जीबी प्रति सेकेण्डको इन्टरनेट भित्र्याईरहेको छ। भारतबाट ल्याइएको इन्टरनेट भैरहवा, बिराटनगर र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ।

चीनबाट भित्र्याईएको इन्टरनेट भने १.५ जीबी प्रति सेकेण्डको भोल्यूममा जोडिएको टेलिकमले जानकारी दिएको छ ।

 

easy care

प्रकाशित: २८ पुष २०७४, शुक्रबार