जेसीबीका हेभी इक्विपमेन्ट २० प्रतिशत डाउनपेमेन्टमा किन्न पार्इने

Technology Khabar १२ पुष २०७४, बुधबार

जेसीबीका हेभी इक्विपमेन्ट २० प्रतिशत डाउनपेमेन्टमा किन्न पार्इने

काठमाडौं, १२ पुस। नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ ।

यो योजना अनुसार ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । यसअघि यस्तो मेसिन २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न पाउने योजना नरहेको कम्पनीको दाबी छ ।

जेसीबीको नयाँ अफरमा एनसीसी बैंकले फाइनान्स सुबिधा उपलब्ध गराउने भएको छ । यसको लागि बुधबार एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यो योजना अनुसार ग्राहकले जेसीबी मेसिन खरिद गर्दा एनसीसी बैंकमा मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए ।

यस्तो कर्जा ५ बर्षको हुने सो कार्यक्रममा जानकारी दिइयो । कर्जाको ब्याजदर प्रचलित दर अनुसारै हुने बैंकले जानकारी दिएको छ । मेसिनको मूल्य साढे ९२ लाख रुपैयाँदेखि १ करोड ३८ लाख रुपैयाँसम्म पर्ने प्रालिका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए । मेसिनको १ बर्षसम्मको बीमा प्रालिले आफ्नो तर्फबाट गरिदिनेछ ।

यो योजनालाई आकर्षक बनाउन ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरु गरिएको छ । स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनको समापनसँगै अब विकास निर्माणको कामले तीव्रता पाउने भएकोले त्यसको लागि आवश्यक हेभी इक्विमेन्ट खरिदमा यस्तो योजना ल्याइएको कम्पनीका मार्केङ हेड दीपकराज गिरीले जानकारी दिए ।

जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको प्रालिको भनाइ छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा रहेको जेसीबीमा हाल साढे दुई सयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको प्रालिको दाबी छ ।

प्रकाशित: १२ पुष २०७४, बुधबार

Comments are closed.

Loading...