हराएका चेलीबेटी खोज्ने मोवाइल एप, अनुहारको पहिचान गरेर जानकारी दिने

Technology Khabar ९ पुष २०७४, आईतवार

हराएका चेलीबेटी खोज्ने मोवाइल एप, अनुहारको पहिचान गरेर जानकारी दिने

काठमाडौं ।

काठमाडौं, ९ पुस । माइती नेपालले चेलीबेटी बेचविचनमा सम्बद्ध अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको जानकारी मोबाइल एपमार्फत लिने भएको छ ।

२२ बर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समिर पन्थीले माइती नेपाललाई सो मोबाइल एप प्रविधि हस्तान्तरण गरेका छन् । अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टिफिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क हस्तान्तरण गरेका हुन् ।

‘खोजी’ नाम दिइएको सो एपको माध्यमले पीडित र पिडकको पहिचान गरी पीडितको उद्धार गर्न र अपराधीलाई कानूनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुने बताईएको छ ।

यस कार्यबाट सम्भावित पिडीतको अग्रिम बचाउ हुनका साथै पिडीतलाई पनि उद्धार गर्न सकिन्छ । यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने र मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दावी छ ।

खोजी एपले फोटो नभएकाहरुको नजिकका आफन्तसँग मिल्ने अनुहारसमेत पत्ता लगाउँछ । यसले उही ब्यक्ति हो हैन भन्ने छुट्याउन सहज हुने जानकारी दिईयो ।

त्यसैगरि नाउट्राकइट कम्पनीले माइती नेपालको नेपाल–भारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरुलाई ’खोजी’ मोवाइल एप इन्स्टल भएको मोवाइल फोन निःशुल्क उपलब्ध गराएको छ । यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरुलाई तालिमसमेत प्रदान गरेको छ ।

परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन र तत्काल सबै ठाउँमा उजुरी पुर्याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टलसमेत कम्पनीले निशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए ।

माइती नेपाल यस्तो प्रविधि प्रयोग गरेर अपराधी तथा हराएका चेलीहरु खोज्ने विश्वकै पहिलो सामाजिक संस्था भएको पन्थीको दावी छ ।

नाउट्राकइट कम्पनीले नेपाल प्रहरीसँग समेत अपराधीको खोजी गर्न यस्तो प्रविधि प्रयोगमा ल्याउन छलफल गरिरहेको जनाएको छ ।

भारतमा समेत तामिलनाडु प्रहरीका अधिकृतहरुले यस प्रविधिको प्रयोग गरिहेको उनले बताए । अन्यत्र यस्तो प्रविधि उपलब्ध गराउँदा आफ्नो कम्पनीले १० लाख डलर (करिव १० करोड रुपैयाँ) शुल्क लिने पन्थीले बताए ।

माइती नेपालकी संस्थापक अनुराधा कोइराले हराएका चेली र अपराधी पत्ता लगाउन खोजी एप निकै उपयोगी हुने बताइन् । हामी पहिलो पटक प्रविधिले सुसज्जित भएका छौं, अब अपराधिभन्दा हाम्रा स्वयंसेवक अगाडि हुनेछन्,’ उनले भनिन् ।

कसरी काम गर्दछ एपले ?

माइती नेपालका भोलन्टियरहरु स्मार्ट फोन बोकेर हिँड्नेछन् । सीमामा शंकास्पद ब्यक्तिलाई भेटे मोवाइलमा फोटो खिच्नेछन् ।

त्यसरी खिचिएको फोटो माइती नेपालको केन्द्रीय सर्भरमा रहेका हजारौंको संख्यामा रेकर्ड गरिएका चेलिबेटी बेचविखनमा संलग्न अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको फोटोसँग मोवाइल एपले आफैं दाँज्नेछ ।

यसरी कुनै दलाल वा हराएका चेलिबेटीसँग फोटोसँग भेटिएको ब्यक्तिको फोटो मिले एपले केही सेकेन्डभित्रै जानकारी दिने छ । त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउन एपले प्रहरीमा जानकारी दिने छ ।

easy care

प्रकाशित: ९ पुष २०७४, आईतवार