चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक राष्ट्रपतिद्वारा अनावरण

Technology Khabar ८ आश्विन २०७४, आईतवार

चन्द्रागिरि हिल्समा निर्मित पृथ्वीनारायण शाहको शालिक राष्ट्रपतिद्वारा अनावरण
NTC_Advt

काठमाडौं ।

काठमाडौं, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार चन्द्रागिरि हिल्समा आयोजित विशेष समारोहकाबीच अनावरण गरिन् ।

चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सभासदहरु लगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो शालिक ५ फिट ८ इन्च उचाईको छ । मुर्तीकार नविन सुवेदीले सो शालिक निर्माण गरेका हुन् ।

राष्ट्रपति भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेख गर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स साना सामन्ती राज्यरज्यौटाहरुलाई एकताको सुत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गरेको बताईन् ।

उनले स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकासमार्फत नेपालको समृद्धि हासिल गर्ने काममा यस संस्थाले अहम भूमिका निर्वाह गर्नसक्ने अपेक्षा आफुले गरेको धारणा पनि राखिन् ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई कम्पनीले प्रसंशनीय काम गरेको बताए ।

उनले आगामी बर्ष सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारीसमेत गराएका थिए ।

सो सभामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्व अर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंहले समेत आफ्नो विचार व्यक्त गरेका थिए ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा सो स्थान काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको दाबी गरे । उनले यस लिमिटेडले यस क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरुको पनि जानकारी गराएका थिए ।

हाल ऐतिहासिक चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ भने पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्तहोस भनी कामना गर्नुभएको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माण भईसकेको छ ।

सोहि परिसरमा सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण कार्य जारी छ । यो निकट भविश्यमै निर्माण सम्पन्न हुने कम्पनीले जानकारी दियो ।

यसका साथै प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएरलगायतका अन्य साहसिक पर्यटनका योजनाहरुको पनि तयारी गरिएको छ ।

सो कम्पनीमा हाल प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ८ आश्विन २०७४, आईतवार