सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक, ६ जीबी र्याम र ड्यूल रियर क्यामरा

Technology Khabar ८ भाद्र २०७४, बिहीबार

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक, ६ जीबी र्याम र ड्यूल रियर क्यामरा
NTC_Advt

काठमाडौं, ८ भदौ। सामसङ बहुप्रतिक्षित रहेको आफ्नो नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ (Samsung Galaxy Note 8)  बुधवार विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको हो ।

यसअघि नोट सेभेनमा ब्याट्री पड्किने समस्या आएपछि सामसङको नोट सिरिजमा नयाँ फोन अाउँछ वा अाउँदैन भन्ने अाशंका हटेको छ।

सामसङले न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना गरेर सामसुङ ग्यालेक्सी नोट ८ सार्वजनिक गरेको हो ।

यो ठुलो डिस्प्लेयुक्त फ्ल्यागसिप स्मार्टफोन हो । फोनमा ड्यूल रियर क्यामरा दिइएको छ भने, एस पेन स्टाइल पनि उपलब्ध छ। एप्पलको आईफोन ८ अक्टुवरमा सार्वजनिक हुने चर्चा भइरहेको बेला सो समय भन्दा अघि नै सामसङले ग्यालेक्सी नोट ८ सार्बजनिक गरेको हो ।

नोट सिरिजलार्इ अगाडि बढाउन यसले निकै सहयोग गर्ने अाशा गरिएकाे बीच यसमा कम्पनीले नयाँ फीचरहरु थप गरेको छ । यसका विशेषताहरु के के छन त ?

डिस्प्ले : यो फोनमा ६.३ इन्चको क्वाड एचडी इन्फिनिटी डिस्प्ले जडान गरिएको छ । किनारामा बेजल्स राखिएको छ भने फोनको स्क्रीन सुपर एमोलेड रहेको छ, जसको पिक्चर रिजोलुसन १४४०X २९६० पिक्सल रहेको छ । क्वाड डिस्प्लेलाई सुरक्षा दिन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यो फोन ब्ल्याक, ग्रे, डिप व्लू र गोल्डन कलरमा सार्वजनिक भएको छ ।

प्रोसेसर : अक्टाकोर स्न्यापड्रागन ८३५ र एक्सोनेट ८८९५ प्रोसेसर प्रयाेग गरिएको छ । अमेरिका र भारत बाहेकका देशमा एक्सोनेट ८८९५ चिपमा मात्र उपलब्ध हुने छ । कम्पनीले यसमा र्याम क्षमतामा पनि वृद्धि गर्दै ६ जीबी र्याम राखेको छ । यो फोन ३ वटा अान्तरिक स्टोरेज क्षमतामा उपलव्ध हुन्छ । ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज क्षमता ग्राहकले आवश्यकता अनुसार छनोट गर्न सक्ने छन् ।

व्याट्री : नोट ८ मा ३३०० एमएएच क्षमताको व्याट्री जडान गरिएको छ । यसअघि नोट सेभेनमा ३५०० एमएएच ब्याट्री प्रयोग गरिएको थियो । तर सुरक्षाका कारण नयाँ नोट फोनमा कम क्षमताको ब्याट्री राखिएको छ ।

क्यामरा : फोनमा ड्युल क्यामेरा लेन्सको प्रयोग भएको छ । दुबै रियर क्यामेरा अप्टिकल इमेल स्टेबलाइजरसहितको १२ मेगापिक्सलको छ भने सेल्फीका लागि फ्रन्ट क्यामेरा ८ मेगापिक्सलको रहेको छ ।

डिजाइन : सामसुङ ग्यालेक्सी एस ८ डिजाइनको आधारमा तयार पारिएको यो नोट ८ हेर्दा ग्यालेक्सी ८ जस्तै रहेको छ । यो फोन ग्लास र मेटल बढीको समिश्रणले निर्माण गरिएको छ । साथै अगाडी र पछाडिको भागमा आर्कषक डिजाइन गरिएको छ । डिजाइनको पछाडि भागमा फिङगर प्रिन्ट स्क्यानर जडान गरिएको छ ।

यो फोनमा सामसङको बिक्स्बी पनि छ साथै कम्पनीले नयाँ भीआर गियर तथा डेक्स वर्कस्टेसनको सपोर्ट पनि दिएको छ ।

मूल्य: यो फोनको प्रि अर्डर बिहिबारदेखि नै सिमित बजारमा शुरु भएको छ भने सेप्टेम्बर १५ देखि बिक्रीका लागि उपलब्ध हुनेछ।

अमेरिकी बजारमा सामसङ ग्यालेक्सी नोट ८ को मुल्य ९३० डलर रहेको छ भने नेपाली बजारमा ९७ हजार रुपैयाँको हाराहारीमा पर्नेछ। तर बिभिन्न करहरु जोड्दा यसको उपभोक्ता मूल्य करिब १ लाख  १० हजार रुपैयाँको हाराहारी पुग्न सक्नेछ ।

यूरोपेली बजारमा भने यस फोनको मुल्य ८६९ पाउण्ड तोकिएको छ ।

नेपाली बजारमा कहिले यो फोन उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

प्रकाशित: ८ भाद्र २०७४, बिहीबार