आईएमई डिजिटललार्इ राष्ट्र बैंकद्धारा पहिलो भुक्तानी सेवा प्रदायकको अनुमति

Technology Khabar ८ असार २०७४, बिहीबार

आईएमई डिजिटललार्इ राष्ट्र बैंकद्धारा पहिलो भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं ।

काठमाडौँ, ८ असार । आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको कम्पनीको दाबी छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मदतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

आईएमई पे सेवालाई चाँडै सञ्चालनमा ल्याउने योजना रहेको र यसले सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय/कलेजका शुल्कहरू भुक्तानी गर्ने देखि लिएर अनलाइनभन्दा बाहिर (अफसाइट) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी/डिपार्टमेन्ट स्टोरहरूका साथै साना-ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्ने सम्मका विविध भुक्तानी सेवाहरू प्रदान गर्ने बताइएको छ ।

‘हामीले आईएमईको व्यापक सञ्जाल अन्तर्गत रहेका रेमिटेन्स एजेन्टहरू, आईएमई समूह अन्तर्गतका बिक्री केन्द्रहरूका साथै हजारौँ आउटलेटहरू मार्फत् आईएमई पे को सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौँ,’ आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले भने ।

आईएमई डिजिटलले अन्तर्राष्ट्रिय स्तरको सिस्टम आर्किटेक्चरमा आधारित गुणस्तरीय वालेट प्लेटफर्म विकास गरिसकेको र यसमा देशव्यापी मोबाइल मनी अपरेसनका लागि आवश्यक सहजताका साथै अत्यन्त सुरक्षित रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

‘मोबाइलमा आधारित भुक्तानीलाई स्वीकार गर्नका लागि देशभरि छरिएका साना-ठूला व्यापारिक केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई यस सेवामा आबद्ध गरेर मोबाइल मनीमा आधारित प्रणाली विकास गर्ने दिशामा हाम्रा योजानहरू अगाडि बढिरहेका छन्,’ आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले भने ।

मोबाइलमा आधारित भुक्तानी प्रणालीको सुरुवातसँगै आईएमई डिजिटलले बैंकिङ सुविधाबाट वञ्चित भएका ५० प्रतिशत भन्दा बढी देशभरि छरिएर रहेका नेपालीहरूको खुद्रा भुक्तानी सम्बन्धी अनगिन्ती आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ असार २०७४, बिहीबार

ताजा समाचार