स्मार्टफोनको विश्व बजारमा सामसंग अग्रस्थानमा, एप्पल दोस्रो र ह्वावे तेस्रो स्थानमा कायमै

Technology Khabar ९ जेष्ठ २०७४, मंगलवार

स्मार्टफोनको विश्व बजारमा सामसंग अग्रस्थानमा, एप्पल दोस्रो र ह्वावे तेस्रो स्थानमा कायमै
सामसंगको नेपालस्थित कार्यालय । फाइल

काठमाडौं, ९ जेठ । विश्वको स्मार्टफोनको बजारमा सामसंग अझै नेतृत्वमा रहेको छ। मंगलवार विश्व बजारमा स्मार्टफोन बिक्रीको तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै गार्टनरले चिनियाँ स्मार्टफोन ब्राण्डहरु ससक्तरुपमा अगाडि आईरहेको जनाएको छ ।

गार्टनरको प्रतिवेदनअनुसार सन् २०१७ को पहिलो चौमासिकमा विश्व बजारमा स्मार्टफोनको बजार ९.१ प्रतिशतले बढ्दै ३८० मिलियन यूनिट बिक्री भएको छ ।

गार्टनरको प्रतिवेदनअनुसार विश्व बजारमा सामसंगले अझैपनि सन् २०१७ को पहिलो चौमासिकमा २०.७ प्रतिशत बजार हिस्सा ओगटेर राज गरिरहेको छ । सामसंगले सो अवधिमा ७ करोड ८६ लाख भन्दा बढि स्मार्टफोन यूनिट बिक्री गरेको छ । सामसंगको बजार हिस्सा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २.६ प्रतिशतले कम हो ।

प्रतिवेदनमा एप्पलले विश्व बजारमा १३.७ प्रतिशत बजार हिस्सासँगै दोस्रो स्थानमा रहेको उल्लेख छ । सन् २०१७ को पहिलो चौमासिकमा एप्पलले ५ करोड १९ लाख भन्दा बढि यूनिट स्मार्टफोन बिक्री गरेको छ ।

विश्व स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड ह्वावे तेस्रो स्थानमा रहेको छ । यसले सो अवधिमा ९ प्रतिशत बजार हिस्सा ओगटेर ३ करोड ४१ लाख भन्दा बढि यूनिट स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

त्यसैगरि चौथो स्थानमा अर्को चिनियाँ ब्राण्ड ओप्पो ८.१ प्रतिशत बजार हिस्सालिएर उभिएको छ भने पाँचौ स्थानमा ६.८ प्रतिशत बजार हिस्सासहित भीभो ब्राण्ड रहेको छ ।

गार्टनरको प्रतिवेदनअनुसार अन्य ब्राण्डहरुको बजार हिस्सा कुल ४१.७ प्रतिशत रहेको छ ।

पछिल्ला दिनहरुमा चिनियाँ स्मार्टफोन ब्राण्डहरुले भारत, इण्डोनेशिया, थाईल्याण्ड जस्ता मुलुकहरुको स्मार्टफोन बजार हिस्सा बढाउँदै लगेको हुँदा उनिहरुको बिक्री बढ्दो क्रममा रहेको उल्लेख छ ।

गार्टनरका अनुसन्धान निर्देशक अंशुल गुप्ताकाअनुसार चिनियाँ स्मार्टफोनहरुको बिक्री बढ्नुमा यसको प्रतिस्पर्धी मूल्य, नयाँ आविश्कारसहितको उच्च गुणस्तरका डिभाइसहरु कारक रहेका छन् । यसका साथसाथै आक्रामक बजारीकरण तथा बिक्री प्रबद्र्धनले पनि अन्य ब्राण्डको बजार ओगट्न सहयोग पुगेको गार्टनरको ठहर छ ।

गार्टनरकाअनुसार सो अवधिमा ग्राहकहरुले गुणस्तरिय फोन किन्नका लागि थप रकम खर्च गरिरहेका छन भने यसले औसत बिक्री मूल्य पनि बढिरहेको छ ।

स्रोत

प्रकाशित: ९ जेष्ठ २०७४, मंगलवार

Comments are closed.

Loading...