नोकिया ३३१० फीचर फोन नेपाली बजारमा, पहिलो दिनदेखि नै बजारमा फोन ‘सर्टेज’

Technology Khabar ५ जेष्ठ २०७४, शुक्रबार

नोकिया ३३१० फीचर फोन नेपाली बजारमा, पहिलो दिनदेखि नै बजारमा फोन ‘सर्टेज’

काठमाडौं, ५ जेठ । नेपाली बजारमा नोकिया ब्राण्डका फोनहरु बिक्री गर्ने कम्पनी पारामाउन्ट इलेक्ट्रोनिक्सले नोकियाको बहुप्रतिक्षित फीचर फोन ‘नोकिया ३३१०’ (Nokia 3310) बजारमा उपलब्ध गराएको छ । कम्पनीले बुधवारदेखि अनौपचारिकरुपमा नै नेपाली बजारमा नोकिया ३३१० उपलब्ध गराएको हो । कम्पनीले नेपाली बजारमा निलो कलरको नोकिया ३३१० मात्र बिक्री गरेको छ ।

पारामाउन्ट इलेक्ट्रोनिक्सका प्रमुख कार्यकारी अधिकृत आशिष जिन्दलले नोकिया ३३१० नेपाली बजारमा अनौपचारिकरुपमा बिक्री गरेको जानकारी दिए । ‘हामीले पहिलो चरणमा नोकिया ३३१० नेपाली बजारमा बिक्री गरिसक्यौं,’ उनले भने, ‘अब किन्न चाहनेहरुले केहि समय कुर्नुपर्ने हुन्छ ।’

कम्पनीले पहिलो चरणमा ५०० वटा सेट बजारमा बिक्री गरेको छ । उक्त संख्यामा मोबाइल सेट पहिलो दिनमा नै बिक्री भएको जिन्दलले जानकारी दिए ।

‘हामीलाई कम्पनीले निकै थोरै सेट दियो, जसले गर्दा माग पुरा गर्न सकिएन,’ उनले भने, ‘सबै सेट एकै दिनमा बेचेपछि बजारमा अहिले पुरै सर्टेज भएको छ ।’ उनकाअनुसार बजारमा नोकिया ३३१० को माग ५ हजार सेट भन्दा बढि छ तर मागअनुसार आपूर्ति गर्न सकिएको छैन् ।

कम्पनीले नेपाली बजारमा नोकिया ३३१० फीचर फोन ५,२५५ रुपैयाँमा बिक्री गरेको हो ।

यसअघि कम्पनीले मोबाइल्सखबरलाई दिएको मूल्य जानकारी भन्दा यो मूल्य केहि कम हो भने भारतीय बजारमा भन्दा करिब ४१ रुपैयाँ कम मूल्य हो । भारतीय बजारमा नोकिया ३३१० को मूल्य ३३१० भारु तोकिएको छ ।

कम्पनीकाअनुसार नोकियाको फोनको माग अझ बढिरहेको छ र मागअनुसारको आपूर्ति गर्न सकिएको छैन् । विश्व बजारमा नै नोकियाका फोनहरुको अभाव देखिएको हुँदा नेपालमा पनि कम सेट आपूर्ति भएको जिन्दलको दाबी छ ।

अब नोकियाको ३३१० फीचर फोन किन्नका लागि ग्राहकहरुले अगस्ट महिनासम्म कुर्नुपर्ने हुन्छ । ‘हामी अगस्ट पहिलो सातादेखि भने ग्राहकहरुको माग अनुसार मोबाइल सेट दिन सक्नेछौं,’ पारामाउन्टका प्रमुख कार्यकारी जिन्दलले भने । उनकाअनुसार आगामी दिनमा अन्य कलर अप्सन पनि आउने छ ।

नोकियाका फोनहरु उत्पादन गर्ने कम्पनी एचएमडी ग्लोबलले नेपालसहित विश्वका १२० देशहरुमा एकैपटक नोकियाका विभिन्न स्मार्टफोन तथा फीचर फोन सार्वजनिक गरेको हो ।

यो पनि हेर्नुहोस्-

प्रकाशित: ५ जेष्ठ २०७४, शुक्रबार

Comments are closed.

Loading...