एचटिसीले नयाँ स्मार्टफोन मोडलहरु बजारमा ल्यायो

Technology Khabar २६ बैशाख २०७४, मंगलवार

एचटिसीले नयाँ स्मार्टफोन मोडलहरु बजारमा ल्यायो

काठमाडौं ।

काठमाडौं । नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसीका तीन नयाँ मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

कम्पनीले एचटिसी यू प्ले (HTC U Play) , एचटिसी वान एक्स९ (HTC One X9)  तथा एचटिसी डिजायर ८२५ (HTC Desire 825) बजारमा सार्वजनिक गरेको छ ।

एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी डिजायर ८२५ ग्रे र ह्वाइट रंगको अप्सनमा उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।

एचटिसी यू प्ले (HTC U Play)

एचटिसीको यू प्लेको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीकाअनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ । यसमा ५.२ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ भने गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । यसमा २.० गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ ।

फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ जसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ । फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ जसले कम प्रकाशमा पनि चहकिलो फाटो खिच्न सक्दछ । यसको दुबै क्यामराले एचडी क्वालिटिको भिडियो रेकर्ड गर्न सकिन्छ ।

एचटिसी यू प्ले स्मार्टफोनमा २५०० एमएएचको ब्याट्री प्याक छ, जसले ८ घण्टासम्मको रेकर्ड गर्न सकिन्छ भने ४४ मिनेटसम्म निरन्तर एचडी भिडियोहरु हेर्न सकिन्छ । सामान्य प्रयोगका लागि भने दिनभर ब्याट्री ब्याकअप दिन्छ ।

फोनमा एचटिसी यू सोनिक, ड्यूल नानो सिम स्लट, ब्लूटूथ ४.२, ड्यूल ब्याण्ड वाईफाई, एनएफसी, ओटिजी, जीपीएस, ग्लोनासलगायतका सुविधा छन्। फोरजी सपोर्ट गर्ने यो स्मार्टफोनमा जाईरोस्कोप, म्याग्नेटिक तथा फिंगरप्रिन्टलगायतका सेन्सर रहेको छ ।

एचटिसी वान एक्स ९ (HTC One X9)

एचटिसी वान एक्स ९ कम्पनीको डिजाईन श्रेणीको स्मार्टफोन हो । वान एक्स ९ मा पुरा मेटल फ्रेम प्रयोग गरिएको छ जसले फोनलाई निकै आकर्षक र प्रिमियम ह्याण्डसेट बनाएको छ । यसको अग्रभागमा ग्लास राखिएको छ जो केहि घुमाउदार र आकर्षक देखिन्छ । यसको डिस्प्ले भन्दा मुनी ब्याक, होम र रिसेन्ट बटन राखिएको छ ।

यसको स्क्रीनलाई गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ । डिस्प्लेको माथिल्लो भाग र तल्लो भागमा ड्यूल स्पीकर ग्रिले प्रयोग गरिएको छ । एचटिसी वान एक्स ९ मा ५.५ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ, जसले घाम लागेको बेलामा पनि सहजरुपमा फोन हेर्न र चलाउन सकिन्छ ।

यो फोनमा भएको ड्यूल एचटिसी बूम साउण्ड स्पीकरले गर्दा फोनमा भिडियो र गेम खेल्न निकै आनन्द हुन्छ ।

एचटिसी वान एक्स ९ मा मिडिया टेकको अक्टाकोर हेलियो एक्स १० प्रोसेसर छ भने ३ जीबीको र्याम रहेको छ । यसमा ३२ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ । फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

वान एक्स ९ मा ब्लूटूथ ४.२, वाईफाई ,जीपीएस, ग्लोनास, मिराकास्ट तथा फोरजी एलटिईको सुविधा छ । फोनमा ३,००० एमएएचको ब्याट्री छ भने क्विक चार्जीङ सपोर्ट गर्दछ ।

एचटिसी डिजायर ८२५ (HTC Desire 825)

यो स्मार्टफोनमा ५.५ इन्चको टचस्क्रीन डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल छ । फोनमा १.६ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रागन ४०० प्रोसेसर छ भने २ जीबीको र्याम राखिएको छ। फोनमा १६ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको सहयोगबाट बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

एचटिसी डिजायर ८२५ मा १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेल्फीका लागि राखिएको छ । एन्ड्रोयड ६.० भर्सनमा संचालन हुने फोनमा २७०० एमएएचको रिमुभेवल ब्याट्री छ ।

एचटिसी डिजायर ८२५ मा ड्यूल माइक्रो सिम सपोर्ट गर्दछ । कनेक्टिभिटीका लागि यसमा वाईफाई, जीपीएस, ब्लूटूथ, यूएसबी ओटिजी, एफएम, थ्रीजी तथा फोरजी राखिएको छ । यसमा प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, एम्बिएन्ट लाइस सेन्सर तथा जाइरोस्कोप राखिएको छ ।

सक्कली भ्याटबिल लिन तथा एचटिसीका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र एचटिसीका उत्पादनहरु खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

एचटिसी यू प्लेको बजार मूल्य ४९,९९९ रुपैयाँ, एचटिसी वान एक्स ९ को मूल्य २८,६०० रुपैयाँ तथा एचटिसी डिजायर ८२५ को मूल्य १८,९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ बैशाख २०७४, मंगलवार

ताजा समाचार