एनसेलका डिलरहरु आन्दोलनमा, काठमाडौंका ५ डिस्ट्रिव्यूटरमा तालाबन्दी

Technology Khabar १० बैशाख २०७४, आईतवार

एनसेलका डिलरहरु आन्दोलनमा, काठमाडौंका ५ डिस्ट्रिव्यूटरमा तालाबन्दी

काठमाडौं ।

काठमाडौं, १० वैशाख । दूरसंचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधि बाँकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्षदेखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलनमा उत्रिएको जानकारी दिए ।

पहिलो चरणमा उनीहरुले आइतबार काठमाडौंका वितरक (डिस्ट्रिव्यूटर) हरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्रेड इन्टरनेशनल प्रालि र सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमा पनि तालाबन्दी गरेको एनसेल डिलर्स एसोसिएसनले जानकारी दिएको छ ।

‘एनसेल नेपालको सबैभन्दा धेरै ग्राहक संख्या भएको कम्पनी हो,’ एनसेल डिलर्स एसोसिएसनका अध्यक्ष संजय कुमार अग्रवालले भने,  ‘यसलाई यो अवस्था सम्म ल्याई पुर्याउन एनसेल सिम प्रयोगकर्ताको माया र सद्भावसँगै हामी डिलरहरुको ठुलो भूमिका रहेको छ । तर व्यवस्थापनले हामीसग सम्झौता हुँदाहुँदै हामीलाई खारेज गरेको छ ।’

उनले विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

‘रात दिन, घाम पानी केही नभनी हामी डिलर र हामीमार्फतका च्यानलहरु नेपालका ग्रामिण क्षेत्रका कुना काप्चा देखि लिएर शहरको गल्ली गल्लीसम्म धाएर एनसेललाई चिनाउन लाग्यौ,’ उनले भने ।

सन् २००५ देखि यो अवधिसम्म व्यवस्थापनसँग कुनै पनि बार्गेनिङ नगरि यसको सम्पूर्ण टार्गेटहरु पूरा गरि कम्पनीलाई सहयोग पुर्याउने काम गर्दै आएको उनिहरुको भनाइ छ ।

एनसेलले नेपाल सरकारलाई कर तिर्नुपर्छ भन्ने दबाब दिएकाले संघप्रति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको हुनसक्ने महासचिव उमेश श्रेष्ठले बताए ।

‘ग्राहकले कर नतिरे सिमकार्ड तथा रिचार्ज कार्ड किन्दैनौ भन्ने गुनासो गरेपछि हामीले एनसेललाई कर तिर्न दबाब दिँयौ तर त्यसको परिणम स्वरुप हामीलाई निषेध गर्न खोजियो,’ उनले भने, ‘कर छल्नकै लागि अनाधिकृत जोनल एजेन्टमार्फत कारोबार थालेको हुन सक्छ ।’

एनसेलको नेपालभर एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेकाे एनसेल डिलर्स एसोसिएसनले जनाएको छ।

easy care

प्रकाशित: १० बैशाख २०७४, आईतवार