सामसंग ग्यालेक्सी एस८ तथा एस८ प्लस सार्वजनिक, प्री-बुकिंगमा लेभल बक्स स्लीम निशुल्क

Technology Khabar ६ बैशाख २०७४, बुधबार

सामसंग ग्यालेक्सी एस८ तथा एस८ प्लस सार्वजनिक, प्री-बुकिंगमा लेभल बक्स स्लीम निशुल्क

काठमाडौं ।

काठमाडौं, ६ चैत । सामसंगको बहु प्रतिक्षित फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई असीमित सम्भावना, नयाँ डिजाइन, विशेषता र प्रयोगकर्ता मैत्री फ्ल्यागसिप स्मार्टफोनको रुपमा बजारमा ल्याएको हो ।

कम्पनीले बुधवार एक कार्यक्रमकाबिच नयाँ स्मार्टफोन सार्वजनिक भएको घोषणा गरेको हो । नेपाल र भारतीय बजारमा सामसंगले एकैपटक बुधवार नै ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस सार्वजनिक गर्यो ।

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस नेपालमा सार्वजनिक गर्दै सामसंग नेपालका हेड, एचएचपी डिभिजन प्रणय रत्न स्थापितले ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस आविश्कारिक नयाँ डिजाइनमा ल्याईएको जानकारी दिए ।

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री-बुकिंग वैशाख ७ गते बिहिवारदेखि शुरु गरेर वैशाख १९ गतेसम्म रहने छ । प्री-बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले करिब ९ हजार रुपैंयाको लेभल बक्स स्लीम उपहारमा दिने जानकारी दिएको छ ।

सामसंगले पहिलो पटक नेपाली बजारमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको प्री-बुकिंग अनलाइन मार्फत गर्ने घोषणा गरेको छ । कम्पनीले यसअघि अफलाइनमा मात्र प्री-बुकिंग लिने गरेकामा यसपटक भने आधिकारिक अनलाइनमा गएर प्री-बुक गर्नुपर्ने हुन्छ ।

सामसंग इण्डियाका तर्फबाट यूबीम वमले सहि तथ्यांक थाहा पाउनका लागि अनलाईन प्री-बुकिंग गरिएको जानकारी दिए । ‘यसअघि अफलाइनमा सहि जानकारी हुँदैनथ्यो तर अहिले हामीसँग लिमिटेड संख्यामा मात्र फोन सेटहरु छन्,’ उनले भने, ‘यसको लागि रिटेलरमा गएर नै अनलाइन बुकिंग गर्न सकिन्छ ।’

त्यसैगरि यो स्मार्टफोन मे ५ तारिख अर्थात वैशाख २२ गतेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दियो ।

कम्पनीले बजारमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसका साथै गियर भिआर, डेक्स, गियर ३६० क्यामरा पनि सार्वजनिक गरेको छ । फोनको मूल्य तोकिएपनि अन्य ग्याजेट्सको मूल्य तोकिएको छैन् ।

मूल्य

नेपाली बजारमा कम्पनीले सामसंगको फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार ९ सय रुपैंयाँ तथा ग्यालेक्सी एस ८ प्लसको मूल्य ९८ हजार ९ सय रुपैंयाँ तोकिएको छ ।

कसरी प्री बुक गर्ने

ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको अनलाइनको प्री बुकिंगको लागि कम्पनीले छुट्टै अनलाइन साइट डब्लूडब्लूडब्लू डट एस८प्रीबुकिंग डटकम (www.s8prebooking.com) तयार गरेको छ । सो साइटमा गएर ग्राहकहरुले आफूलाई चाहिएको फोनको मोडल छनौट गरेर, मनपर्ने कलर पनि छनौट गर्न सकिन्छ । त्यसपछि भने ग्राहकहरुले प्री बुकिंग गरेको कोड नम्बर प्राप्त गर्नेछन् । जसको आधारमा फोन बजारमा आएपछि लिन सकिनेछ । यसको लागि ग्राहकहरुले अफलाइन रिटेलरमा गएर उनीहरुको सहयोगमा अनलाइन प्री बुक गर्न सकिन्छ ।

स्मार्टफोनको बीमा

सामसंगले धेरैपनि नेपाली बजारमा स्मार्टफोनको बीमाको व्यवस्था पुन शुरु गरेको छ । यसअघि एस थ्रीमा राखिएको स्मार्टफोनको बीमालाई कम्पनीले फेरी एस ८ तथा एस ८ प्लसका साथमा ल्याएको छ । ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस ग्राहकहरुले फोन खरिद गर्ने बित्तिकै सिधै ६ महिनाको ब्रेकेज इन्स्योरेन्सको सुविधा प्राप्त गर्नेछन् । यस्तो सुविधा फोन बिग्रिएमा वा टुटेफुटेमा उपलब्ध हुनेछ । विशेषगरि फोन झरेर स्क्रीन फुट्ने समस्या हुने गरेको हुँदा यस्तो बीमाले सहयोग गर्ने कम्पनीले जानकारी दियो । तर यस्तो बीमामा ६ हजार रुपैंयाभन्दा कम रकमको बीमा भने समावेश नहुने कम्पनी कर्मचारीले जानकारी दिए ।

एनसेलसँग बण्डलिङ

सामसंगले धेरैपछि टेलिकम कम्पनीसँग बण्डलिङमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस उपलब्ध गराएको छ । यसमा एनसेलसँगको सहकार्यमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस लिने प्रयोगकर्ताहरुले प्रति महिना १ जीबीको डाटा ८ महिनासम्म निशुल्क प्राप्त गर्ने सामसंग नेपालले जानकारी दियो ।

यसका साथै ग्राहकहरुले ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लस किन्दा एकेजी बाई हर्मन ब्राण्डको ईयरफोन पनि सेटका साथमा निशुल्क प्राप्त गर्ने जानकारी कम्पनीले दियो ।

कलर अप्सन

सामसंगले नेपाली बजारमा ग्यालेक्सी एस ८ तथा ग्यालेक्सी एस ८ प्लसको विभिन्न कलर अप्सन ल्याएको छ । ग्यालेक्सी एस ८ म्यापल गोल्ड र मिडनाइन ब्ल्याक कलर अप्सनमा तथा ग्यालेक्सी एस ८ प्लस म्यापल गोल्ड र मिडनाइन ब्ल्याकका साथै कोलर ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ । कोरल ब्लू कलर भने ग्राहकको मागको आधारमा मात्र ल्याईने बताईयो ।

फोनका साथमा ईकोसिस्टम

कम्पनीले फोनका साथै यसको ईकोसिस्टमका ग्याजेट्स पनि बजारमा ल्याएको छ । जसमा गियर भिआर, गियर ३६० क्यामरा, सामसंग डेक्स रहेका छन् । यी सबै ग्याजेट्सहरुको मूल्य भने सार्वजनिक गरिएको छैन् ।

Global Bank
easy care

प्रकाशित: ६ बैशाख २०७४, बुधबार