Technology Khabar १७ फाल्गुन २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, १७ फागुन । जिओनीले ए सिरिजका पहिलो स्मार्टफोनहरु जिओनी ए वान (Gionee A1) तथा ए वान प्लस (Gionee A1 Plus) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक ए सिरिजमा नयाँ स्मार्टफोनहरु ल्याएको हो ।
यी दुबै स्मार्टफोनहरु सबैभन्दा पहिले नेपाल र भारतीय बजारमा सार्वजनिक हुनेछन् । नेपालमा भने यो मार्चको १५ तारिखको हाराहारी अर्थात चैतको शुरुवातीमा बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
यी दुबै स्मार्टफोनहरु मिड रेन्जका स्मार्टफोनको रुपमा बजारमा आउनेछन् । र नेपाली बजारमा करिब ३५ हजारमाथि मुल्यसहित नेपालमा आउने जिओनीको नेपाल स्थित कार्यालयले जानकारी दिएको छ । यसमध्ये सबैभन्दा पहिले ए वान नेपालमा भित्रनेछ ।
कम्पनीकाअनुसार दुबै फोनमा ब्याट्री तथा सेल्फी क्यामरा निकै राम्रो रहेको छ । ए वानमा ४०१० एमएएचको ब्याट्री प्याक राखिएको छ भने ए वान प्लसमा ४५५० एमएएचको ब्याट्री राखिएको छ ।
कम्पनीले यी स्मार्टफोनहरुमा नयाँ १८ वाटका नयाँ अल्ट्राफास्ट चार्जिंग प्रविधि राखिएको जानकारी दिएको छ, जसले फोनलाई २ घण्टामा पुरै चार्ज गर्नेछ ।
जिओनी ए वान (Gionee A1)
ए वान स्मार्टफोनमा ५.५ इन्चको फूलएचडी एमोलेड प्यानेल प्रयोग गरिएको छ भने मिडिया टेकको हेलियो पी १० चीपसेट राखिएको छ । यसमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।
जियोनी ए वानमा ड्यूल सिम सपोर्ट छ भने फोटोका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । सेल्फीका लागि यसमा फ्रन्ट फ्ल्याश पनि रहेको छ । यो फोन एन्ड्रोयड नुगटका साथमा आउनेछ ।
जिओनी ए वान प्लस (Gionee A1 Plus)
जिओनी ए वान प्लसमा ६ इन्चको फूलएचडी आइपीएस एलसिडी डिस्प्ले राखिएको छ भने यसमा मिडिया टेक हेलियो पी २५ प्रोसेसर प्रयोग गरिएको छ । फोनमा ४जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । यो जिओनीको ड्यूल क्यामरा फोन हो । जसमा १३ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
ए वान प्लसमा अन्य फीचरहरुमा १८ वाटको अल्ट्राफास्ट चार्जिंग प्रविधि राखिएको छ ।
जिओनी ए वानको मुल्य ३४९ यूरो तथा ए वान प्लसको मूल्य करिब ४९९ यूरो विश्व बजारका लागि राखिएको छ ।
प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार