नेपाली उद्योगहरुको उत्पादन उपयोग गरेर औद्योगिकरण गराै‌‌‌: उद्योग मन्त्री जोशी

Technology Khabar २५ माघ २०७३, मंगलवार

नेपाली उद्योगहरुको उत्पादन उपयोग गरेर औद्योगिकरण गराै‌‌‌: उद्योग मन्त्री जोशी
Classic Tech

काठमाडौं, २५ माघ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले अहिलेको समय औद्योगिकरणको समय भएकाले नेपाली उद्योगहरुको उत्पादन उपयोग गरेर औद्योगिकरणमा सघाउन नेपाल सरकारका सह—सचिवहरुलाई आग्रह गरेका छन् ।

उद्योग मन्त्रालयले सोमवार आयोजना गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगको अवस्था सम्बन्धि छलफल कार्यक्रममा मन्त्री जोशीले नेपालमा लगानीको सुरक्षा छ, र नेपालमा स्वच्छ व्यवसाय गरेर सरकारलाई कर तिरेर फाईदा लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि नेपाली वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताए ।

नेपालको बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी स्वावलम्वी बन्नका लागि समेत नेपाली वस्तुको उपयोग बढाउनु पर्ने उनको भनाइ छ । मन्त्री जोशीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्वन्धी निर्देशिका विध्यमान रहेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोले समस्या देखिएको बताए ।

त्यसको प्रभावकारी कार्यान्वयन नहुनुका पछाडी अनुगमन प्रभावकारी हुन नसकेको भन्दै निर्देशिकाले गरेको व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न महालेखा परिक्षकले लेखा परिक्षण गर्दा नेपाली वस्तुको उपयोग गरे नगरेको अनुगमन समेत गर्न सक्ने व्यवस्था राख्न उपयुक्त हुने सुझाव सह सचिवहरुको थियो ।

उनले अबको १ महिना भित्रमै निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरी नेपालको आर्थिक समृद्धि र रोजगारी श्रृजना गर्ने कार्यमा सहयोग पुर्याउन नेपाल सरकारका विभिन्न मन्त्रालयका सह—सचिवहरुलाई आग्रह गरेका हुन् ।

‘अहिलेलाई मन्त्री सचिव र सह सचिवको कार्य कक्षमा प्रयोग हुने सामान मध्ये उपलब्ध भएसम्म नेपाली उत्पादन प्रयोग गर्न सुरु गरौं, यति मात्र गर्न सकियो भने पनि नेपाली उद्योगको विकासमा यसले सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने ।

लघु , साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको गुणस्तरीयता र उत्कृष्ट प्रस्तुतिका लागि उद्योग मन्त्रालयले निजी क्षेत्रको सहयोगमा ‘मेड ईन नेपाल’ नामक सौगात गृह छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

मूल्य अभिवृद्धि करको अभावमा साना उद्योगहरुको उत्पादन सार्वजनिक निकायमा बिक्री गर्न समस्या भएको भन्ने सम्वन्धमा उद्योग मन्त्रालयले त्यसलाई तत्काल समाधान गर्न नीतिगत व्यवस्था गर्ने मन्त्री जोशीले जानकारी दिए ।

मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्वन्धी निर्देशिकाको प्रधावकारी कार्यान्वयनका लागि उद्योग मन्त्रालयले अनुगमन प्रकृयालाई थप सकृय र प्रभावकारी बनाएको बताए ।

कानुन मन्त्रालयका सचिव कमलसाली घिमिरेले निर्देशिकाको इमान्दारिपूर्वक कार्यान्वयन गरेको नदेखिएको भनाइ राखे ।

छलफलमा भाग लिंदै विभिन्न मन्त्रालयका सहसचिवहरुले स्वदेशी वस्तुहरुको प्रयोगलाई बढाउन नेपाली वस्तुहरु गुणस्तरीय र प्रतिस्पर्धी हुन जरुरी रहेको धारणा राखे ।

छलफमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुले २५ हजार रुपैयाँ भन्दा माथिको सामान विक्री गर्न मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने वाध्यात्मक व्यवस्थाले साना उद्यमीहरुलाई आफ्नो उत्पादन सार्वजनिक निकायहरुमा विक्री गर्न समस्या भईरहेको बताएका थिए ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्वन्धी निर्देशिका २०७१ ले सार्वजनिक निकायले आफुले प्रयोग गर्ने मालसामान वा वस्तु खरिद गर्दा उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरेको छ ।

TK Viber

प्रकाशित: २५ माघ २०७३, मंगलवार

Loading...