टेलिकमकाे प्रिपेडमा पनि फोरजी आयो, आईफोनमा भने मार्चमा

Technology Khabar २२ माघ २०७३, शनिबार

टेलिकमकाे प्रिपेडमा पनि फोरजी आयो, आईफोनमा भने मार्चमा
फाइल फाेटाे
Classic Tech

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले शुरु गरेको फोरजी/एलटिइ प्रविधि शनिवारदेखि प्रिपेड मोबाइलमा पनि शुरु भएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रिपेडमा फोरजी प्रविधि शुरु गरेको घोषणा गरेको छ ।

टेलिकमले पुस १८ गतेदेखि नेपालमा पहिलो पटक फोरजी पोष्टपेड मोबाइल यूजर्सका लागि शुरु गरेको थियो भने अब प्रिपेड ग्राहकहरुले पनि यो सेवा प्रयोग गर्न पाएका हुन् ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले हाल पोष्टपेडमा ५० हजार ग्राहकहरुले यो सेवा लिईरहेको जानकारी दिईन् । ‘हाल फोरजी सेवा शुरु भएपनि सबैको फोनसेटमा यो प्रविधि चलाउन नसक्ने हुन सक्दछ,’ उनले भनिन्, ‘यसको लागि यू सिम, फोरजी फोनसेट र प्रयोगकर्ता काठमाडौं वा पोखरा क्षेत्रमा बसेको हुनुपर्दछ ।’

हाल पोष्टपेडमा मात्र उपलब्ध यो प्रविधिको प्रयोगकर्ता क्षमता ३ लाख ५० हजारसम्म रहेको छ । हालको प्रयोगकर्ता संख्या क्षमताको करिब साढे १४ प्रतिशत मात्र हो ।

टेलिकमले प्रिपेडमा पनि यो प्रविधि शुरु गरेपछि यसको यूजर्स संख्या दोब्बर हुने अनुमान गरिएको छ । तर कम्पनीले आफ्नो क्षमतालाई बढाउँदै जाने र सेवाको गुणस्तरमा पनि कुनै फरक नपर्ने जनाएको छ । ‘हामी प्रयोगकर्ताको संख्या बढेसँगै गुणस्तरमा पनि ध्यान दिनेछौं,’ प्रवक्ता वैद्यले भनिन् ।

त्यसैगरी फोरजीसँगै आईफोनमा यो प्रविधि प्रयोग हुन नसकेको बारेमा भने उनले कुनै आईफोनहरुमा भने फोरजी चलेको भेटिएको दाबी गरिन् । आईफोनको कुनै मोडलहरुमा हामीले फोरजी चलेको भेटेका छौं,’ उनले भनिन्, ‘चीनको लागि आएको भनिएको आइफोनमा हामीले फोरजी चलेको भेट्यौं ।’

हाल आइफोनका सिक्स र सेभेनका भर्सनमा फोरजी प्रविधि चलाउन समस्या रहेको छ । तर आइफोन फाइभसम्मका सेटहरुमा भने कुनै समस्या छैन् ।

प्रवक्ता वैद्यकाअनुसार कम्पनीसँग कुराकानी भएको र सफ्टवेयरको अपडेटसँगै यसको समस्या समाधान हुनेछ । तर टेलिकम स्रोतकाअनुसार भने आईफोनमा टेलिकमको फोरजी चलाउन ग्राहकहरुले मार्च महिनासम्म कुर्नुपर्ने छ ।

‘हाल केहि फोनसेटहरुमा अपडेट गरेर चलाउन सकिने भएपनि ग्राहकहरुलाई त्यसको बारेमा थाहा नभएको हुनसक्दछ र मार्च महिनामा मात्र एप्पलले यो समस्या समाधान गर्ने जानकारी दिएको छ,’ स्रोतले भन्यो ।

उता आईफोनको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्टका पवन भिमसरियाले टेलिकमले अझै पनि आवश्यक कागतपत्र एप्पललाई नपठाउँदा समस्या बल्झिएको बताए । ‘टेलिकलाई नन डिस्क्लोजर एग्रिमेन्ट गरेर पठाऊ भनेर एप्पलले भनेको तर अझै मानेको छैन्,’ उनले भने, ‘एप्पलले नेपाली आइफोन यूजर्सको डाटाको गोपनियता चाहेको छ ।’

तर टेलिकमले भने सरकारी कम्पनी भएको हुँदा सरकारले मागेमा ग्राहकहरुको सबै जानकारी दिनुपर्ने भन्दै सम्झौता गर्न आनाकानी गरिरहेको उनको दाबी छ । जेनेरेसन नेक्स्टकाअनुसार यो समस्या फेब्रुअरी महिनाभित्र समाधान हुनेछ ।

एप्पलले आइफोनमा देखिएको यो समस्या समाधान गर्न प्राविधिकसहितको टोली पठाउन लागेको भिमसरियाले जानकारी दिए । उनकाअनुसार यो समस्या पहिले नै समाधान हुनुपर्नेमा टेलिकम अधिकारीहरुको लापरवाहिले यस्तो भएको हो ।

नेपालस्थित आइफोनको आधिकारिक बितरकका अनुसार हाल करिब ७० हजारले आइफोन सिक्स र सेभेन संस्करण प्रयोग गरिरहेका छन् । आइफोन फाइभसहित जोड्ने हो भने यो संख्या करिब १ लाख ७० हजारसम्म पुग्दछ ।

TK Viber

प्रकाशित: २२ माघ २०७३, शनिबार

Loading...