सामसंग ग्यालेक्सी सि नाइन प्रो आउँदै, क्यान इन्फोटेकमा प्रदर्शन गरिने

Technology Khabar ६ माघ २०७३, बिहीबार

सामसंग ग्यालेक्सी सि नाइन प्रो आउँदै, क्यान इन्फोटेकमा प्रदर्शन गरिने

काठमाडौं ।

काठमाडौं, ६ माघ । सामसंगले नेपाली बजारमा छिटै ग्यालेक्सी सि नाइन प्रो (C9 Pro) स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यसअघि चीनमा मात्र उपलब्ध भएको यो फोन कम्पनीले यहि फेब्रुअरीको अन्त्यसम्ममा बजारमा ल्याउन लागेको हो ।

सामसंग नेपालले यो स्मार्टफोन यहि जनवरीको अन्त्यमा हुन लागेको क्यान इन्फोटेकमा प्रदर्शनीमा राख्ने भएको छ ।

मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले C9 Pro र A7-2017 मोडलका फोनहरु

सामसंगले सि नाइन प्रोका साथै इन्फोटेकमा ए सेभेन २०१७ संस्करण पनि ग्राहकहरुलाई देखाउने छ । यसको पुष्टि क्यानले जारी गरेको प्रेस विज्ञप्तिले गरेको छ । क्यानको विज्ञप्तिमा भनिएको छ, ‘एशोसिएट प्रायोजक सामसुङले नेपालका लागि special feature र design भएको विभिन्न फोनहरु प्रदर्शन गर्ने छ र मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले C9 Pro र A7-2017 मोडलका फोनहरु अनुभव गर्न सक्नुहुने छ भने सामसुङले “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” मा आफ्नो नयाँ मोडलको फोनहरु प्रदशन गर्ने छ ।’

सामसंगले सि नाइन प्रोको मूल्य नेपाली बजारमा ६० हजार रुपैंया भन्दा तल हुने तथा यसको प्रि-बुकिंग फेब्रुअरीको मध्यदेखि हुने जानकारी दिएको छ ।

ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोनमा ६ जीबीको र्याम

यसैबिच सामसंग इण्डियाले भारतीय बजारमा ग्यालेक्सी सि नाइन प्रो जनवरी १७ तारिखमा सार्वजनिक भएको घोषणा गरेको छ । अल मेटल यूनिबडि भएको यो स्मार्टफोन सामसंगले ल्याएका फोनहरुमध्ये सबैभन्दा शक्तिशाली फोनहरुमा पर्दछ ।

‘भारत तिब्रगतिमा वृद्धि भईरहेको स्मार्टफोन बजारहरु मध्ये एक हो । उपभोक्ताहरुको प्रवृत्तिले ठूलो स्क्रीन भएको स्मार्टफोनहरु प्रयोग गर्न रुचाईरहेको देखाउँछ । ग्यालेक्सी सि नाइन प्रोको उपलब्धताले हाम्रा ग्राहकहरुलाई अति उच्च विशेषताहरु तथा प्रविधि उपलब्ध गराउन हामी प्रतिबद्ध रहेको देखाउँछ,’ सामसंग इण्डियाका भाइस प्रेसिडेण्ट मनु शर्माले भने, ‘ग्यालेक्सी सि नाइन प्रोले ६ इन्चको फूल एचडी सूपर एमोलेड डिस्प्लेसहित प्रयोगकर्ताहरुलाई सबैभन्दा राम्रो मल्टिमिडिया अनुभव प्रदान गर्दछ ।’

१६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा

सामसंगले ल्याएको ग्यालेक्सी सि नाइन प्रो स्मार्टफोनमा ६ जीबीको र्याम राखिएको छ, जून सामसंगको उच्च क्षमताको र्याम भएको पहिलो स्मार्टफोन हो । यसमा ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

ग्यालेक्सी सि नाइन प्रोमा ६४ बिट क्वालकमको अक्टा-कोर प्रोसेसर राखिएको छ, जसले निरन्तर मल्टिमिडिया, गेमिंग र विभिन्न एप्स प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोनमा १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ जसमा सूपर वाइड एफ १.९ एपार्चर छ । यसमा सेल्फीका लागि ड्यूल एलईडी फ्ल्याश राखिएको छ । यसको क्यामराले फूल एचडी भिडियो रेकर्ड गर्न सकिन्छ भने फोरके भिडियो हेर्न सकिन्छ ।

फोनमा ४, ००० एमएएचको ब्याट्री राखिएको छ भने फास्ट चार्जिंग प्रविधि उपलब्ध छ । यूएसबी टाइप-सी सपोर्ट गर्ने यो स्मार्टफोनमा दुई सिम कार्ड प्रयोग गर्न सकिन्छ, साथै माइक्रो एसडी कार्डको लागि छुटै स्लट राखिएको छ ।

फोनमा एक्सेलेरोमिटर, प्रोक्सिमिटी, एलईडी लाइट, फिंगरप्रिन्ट स्क्यानरलगायतका सेन्सरहरु राखिएका छन भने नियरफिल्ड कम्यूनिकेसन प्रविधि पनि छ ।

एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सन अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोन १८८ ग्रामको छ भने ६.९ मिलिमिटरको मोटाइ रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ६ माघ २०७३, बिहीबार

ताजा समाचार